गुल्मीमा ठूलो विपत्, थुप्रै सर्वसाधारणको मृत्यु

बुटवल । गुल्मी जिल्लामा पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ । २ जना बेपत्ता भएका छन् ।

सत्यवती गाउँपालिकाको २ वटा वडामा पहिरोले घर पुरिँदा १० जनाको मृत्यु भएको हो । सत्यवति गाउँपालिकाको लिम्घामा ८ जना र ठूलो लुम्पेकमा २ जनाको मृत्यु भएको छ ।

सत्यवति गाउापालिका वडा नम्बर ४ को लिम्घा भीरकुनामा ८ जनाको मृत्यु भएको छ ।

मृतकमध्ये ६ जनाको शव पहिरोबाट बाहिर निकालिएको छ । पहिरोले पुरिएका २ जनाको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा ६५ वर्षीय छल्ली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक रहेका छन् ।

सोही गाउँपालिका ३ को ठूलोलुम्पेक कसिनडाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी तरामु, ९ वर्षीय दर्शन तरामुको मृत्यु भएको हो ।

दाङसिंगामा रुद्र बिकको घर पहिरोले बगाएको छ । पहिरोले घर बगाउादा ४० वर्षीय माया बिक र १६ वर्षीय बबि बिक बेपत्ता भएका छन् । पहिरोमा पुरिएर २ जना घाइते भएका छन् ।

सत्यवति ४ का १० वर्षीय करिश्मा तरामु र १३ वर्षीय धनी तरामु घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको ठूलोलुम्पेकस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

पहिरोले लिम्घामा १५ घर जोखिममा रहेका छन् । सिङदीमा ५५ घर जोखिममा रहेकाले ठूलोलुम्पेकस्थित धर्मपुर माविमा शरण लिएको स्थानीय शिक्षक दुर्गा तरामुले बताए ।

थप राहत र उद्धारको लागि जिल्ला बिपद व्यवस्थापन समिति तयारी अबस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेले बताए ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र, जनपथ प्रहरीको टोली पुगेको छ । उसले उद्दारको काम गरिरहेको र स्थानीय बासिन्दाले पनि सघाएको पौडेलले बताए ।

Published : Tuesday, 2019 July 23, 4:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया