कांग्रेसको आदर्श बने मेयर चिरीबाबु, कम्युनिस्टहरू लाजले निथ्रुक्क

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आफूलाई गाडी किन्न छुट्याएको बजेटले विरुवालाई पानी हाल्ने प्रयोजनका लागि ट्यांकर किनेका छन् ।

विस्तारित चक्रपथमा रोकिएका विरुवा संरक्षणका लागि समस्या भएपछि गाडी किन्ने बजेटले २ वटा ट्यांकर किनेको उनले बताए ।

उनले भने, ‘म अहिले चढेको गाडी पनि चलिरहकै छ, कहिलेकाहीँ बिग्रिन्छ, मर्मत गरेपछि चल्छ ।’

नेपाली कांग्रेस ललितपुरका नेता समेत रहेका महर्जन जिल्लाभरि लोकप्रिय छन् । उनको त्यही लोकप्रियताका कारण नेपाली कांग्रेसले टिकट दिएको थियो । ललितपुर महानगरपालिकाका जनताले पनि उनलाई जिताएका थिए ।

‘त्यसैले अहिले मैले गाडी नकिनेर ट्यांकर ल्याउने निर्णय गरेको हुँ’, महर्जनले भनेका छन् ।

गत आर्थिक वर्षमा १ करोड रुपियाँ मेयरलाई गाडी किन्न छुट्याइएको थियो ।

नयाँ रोपिएका विरुवालाई हिउँदमा पानी हाल्न समस्या हुने देखिएपछि त्यसैबाट ट्यांकर किन्ने निर्णय लिएको उनले बताए ।

२ वटा ट्यांकर किन्न महानगरपालिकाले करिब ६० लाख खर्च गरेको छ ।

‘चक्रपथमा नयाँ रोपिएका २४ सय विरुवामध्ये २ हजार बढी ललितपुर महानगरभित्र नै छन्’, उनले भने, ‘ती विरुवालाई मर्न नदिन ट्यांकर किनेका हौं ।’

महानगरले ल्याएका ट्यांकर बहुसुविधायुक्त छन् । यो ट्यांकरबाट अग्ला विरुवामा पानी हाल्न र सडक सफा गर्न पनि सकिन्छ ।

‘म पहिलो त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल बनाउने बेलामै थुप्रै बिलासी गाडीहरू चढेँ’, महर्जनले भनेका छन्, ‘अहिले मलाई गाडी मोह छैन ।’

मेयर महर्जन अहिले टोयोटाको बा ३ प २३८३ चढिरहेका छन् । उनले यो गाडी २० वर्षभन्दा पुरानो भएको बताए ।

एमालेबाट विजयी भएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सुरक्षा गार्ड र रातो बत्तिसहित विलासी गाडी चढ्दै आएका छन् ।

दुईतिहाइको कम्युनिस्ट सरकारका बनमन्त्री शक्ति बस्नेतले आधा दर्जन गाडी एक्ले चढ्दै आएका छन् ।

नेपाली कांग्रेसबाट ललितपुर महानगरपालिकामा मेयरमा विजयी भएका महर्जनले आफूलाई गाडी किन्न छुट्याएको रकमले ट्यांकर किनेर विरुवामा पानी हाल्दै आएका छन् ।

महर्जनको सो कार्यले देशभरिका नेपाली कांग्रेसको इज्जत बढाइदिएको छ ।

Published : Tuesday, 2019 July 23, 3:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया