ओलीसँग ‘रअ’का प्रमुखको मध्यराति गोप्य वार्ता, टंगालमा भोजन, खुमलटार दङ्ग

काठमाडौं । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अलग–अलग भेटवार्ता गरेको खुलासा भएको छ ।

शनिबार साँझ साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका ‘रअ’का प्रमुख गोयलले सोही राति करीव ९:३० बजेदेखि ३ घण्टासम्म प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेटेको उच्च स्रोतले जनाएको छ । भेटमा भएको कुराकानीको औपचारिक जानकारीबारे केही भनिएको छैन ।

प्रधानमन्त्री ओली र गोयलबीच भएको भेटवार्तामा नेपाल–भारतबीचको सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक अवस्था, नेपालमा चीनको बढ्दो गतिविधि, पाकिस्तानी गतिविधि नियन्त्रण लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

‘रअ’का प्रमुख गोयलले नेपालमा बढ्दै गएको भारत विरोधी गतिविधिप्रति ओलीसँग धेरै गुनासो गरेका थिए । जवाफमा ओलीले भारत विरोधी भावना बढ्न नदिने आश्वासन दिएको स्रोतले जनाएको छ ।

त्यति मात्रै होइन वर्तमान सरकारप्रति भारतको के धारणा छ ? भनेर ओलीले कुरा राखेको जनाइएको छ । तर, ‘रअ’का प्रमुख गोयलले सो विषयमा स्पष्ट जवाफ नदिएको स्रोतले दाबी गरेको छ ।

शनिबार साँझको खाना टंगालस्थित जिम्बु थकाली भोजनालयमा ‘रअ’का प्रमुख गोयलसहितको टिमले खाएको थियो । खाना खाने बेला ‘रअ’का नेपाल स्टेसन प्रमुख अभिजित हल्दरले व्यवस्थापन गरेका थिए । खाना खाएर गोयलको टिम सिधै बालुवाटार हानिएको स्रोतको दाबी छ ।

एक महिना अगाडि ‘रअ’को प्रमुखमा नियुक्ति भएका गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रमुख सुरक्षा सल्लाहकार अजित डोभलका विश्वासपात्र मानिन्छन् ।

गोयलसँग ‘रअ’का उपप्रमुख शशिभुषण सिंह र ‘रअ’का पूर्व नेपाल स्टेशन प्रमुख अरुण जैन पनि आएका थिए । गोयल, सिंह र जैनले आ–आफ्ना पत्नीहरूलाई पनि साथमा ल्याएका थिए ।

‘रअ’का प्रमुख गोयलसहित छ जनाको टिमलाई बौद्धको होटेल ह्यातमा कोठा बुक गरिए पनि उनीहरू त्यहाँ बसेनन् । उनीहरू भाडाको निजी निवासमा बसेको उच्च स्रोतको भनाइ छ ।

गोयलसहितका छ जनाले आइतबार साँझ पशुपतिनाथ मन्दिरको पूजाअर्चनाका साथै दर्शन समेत गरेको थियो ।

‘रअ’का प्रमुख गोयलसहितको टिम सोमबार २ बजे नयाँदिल्ली फिर्ता भइसकेको छ ।

‘रअ’का प्रमुख गोयलले सोमबार बिहान ललितपुरको खुमलटारस्थित निवासमै पुगेर नेकपाका दोस्रो तहका अध्यक्ष दाहाललाई भेटेका थिए । दाहालले गोयललाई स्वागत गर्न गेटमै आएको स्रोतले जनाएको छ ।

गाेयलकाे टाेलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भने भेटेकाे थिएन । ओली र दाहाललाई ‘रअ’का प्रमुख गोयलले भेटे पनि राजपा नेपालका नेताहरूलाई नभेटेको उच्च स्रोतले जनाएको छ ।

Published : Monday, 2019 July 22, 10:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया