भारतीय गुप्तचर ‘रअ’का प्रमुख काठमाडौंमा, उच्च तहमा भेट गर्ने

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’का प्रमुख समान्तकुमार गोयल काठमाडौंमा गुपचुप आएका छन् ।

दुई महिना अगाडि मात्रै ‘रअ’को प्रमुखमा नियुक्त भएका गोयल आइतबार दिउँसो काठमाडौं उत्रिएका हुन् । उनीसँग पाँच जनाको टोली पनि काठमाडौं आएको छ ।

‘रअ’का प्रमुख गोयल काठमाडौंमा पाँच दिन बस्नेछन् । काठमाडौंको बौद्धस्थित होटेल ह्यातमा बस्दै आएका गोयललाई भारतीय राजदूत मञ्जीव सिंह पुरी र ‘रअ’का नेपाल स्टेशन प्रमुख अभिजित हल्दरले विशेष स्वागत गरिसकेका छन् । गोयल होटलको कोठा नम्बर ३२४ मा बसेको उच्च स्रोतले जनाएको छ ।

पाकिस्तानको बालकोटमा स्ट्राइक गर्न विशेष भूमिका खेलेका गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वापात्र मानिन्छन् ।

गोयल नेतृत्वको टोलीले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूलाई विशेष रुपमा भेट्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

सरकारका मन्त्री र उच्च प्रशासकहरूलाई पनि गोयलले भेट्ने जनाइएको छ । ‘रअ’ प्रमुख गोयलको यो भ्रमणलाई भारतीय राजदूतावास लैनचौर र नेपाल सरकारले गुपचुप राखेको छ ।

‘रअ’का प्रमुख गोयलको गोप्य रुपमा भएको नेपाल भ्रमणले भारतफेरि पनि नेपाली राजनीतिमा हाबी हुन खोजेको संकेत दिएको छ ।

नेपालमा बढ्दै गएको चीनको प्रभावबाट झस्किएको भारतले आफूलाई रणनैतिक रुपमा मजदुब तरिकाले उपस्थिति गराउन खोजेको छ ।

Published : Monday, 2019 July 22, 12:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया