अरिँगालले टोकेर घाइते श्रेष्ठलाई कांग्रेसका खतिवडाद्धारा हेलिकप्टरबाट उद्धार

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले अरिँगालले टोकेर गम्भीर घाइते भएका गनबहादुर श्रेष्ठलाई हेलिकप्टरबाट उद्धार गरेर उपचार गराएका छन् ।

खतिवडाले मंगलबार काठमाडौंबाट ओखलढुंगा हेलिकप्टर पठाएर ५२ वर्षीय श्रेष्ठलाई काठमाडौं ल्याएका हुन् । श्रेष्ठलाई उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक उपचार कक्षमा भर्ना गरिदिएका छन् ।

त्रिवि शिक्षण अस्पतालको आकस्मिक उपचार कक्षका चिकित्सक डा.अर्जुन बानियाँले श्रेष्ठको उपचार शुरू भइसकेको जानकारी दिए । ‘उहाँलाई अरिँगालले शरीरका विभिन्न भागमा टोकेको रहेछ’, उनले भने, ‘श्रेष्ठको स्वास्थ्य परीक्षणदेखि अन्य सबै उपचार शुरू गरेका छौँ । रिपोर्टमा के देखाउँछ । सोही अनुसारको उपचार हुनेछ ।’

अरिँगालले जिउभरि टोकेपछि गम्भीर घाइते भएका श्रेष्ठको घर ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाको वडा नम्बर ९ फलहरिमा पर्छ । श्रेष्ठलाई सदरमुकामको मिशन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । चार दिन अगाडि अरिँगालले टोकेर घाइते भएका श्रेष्ठलाई मिशन अस्पतालले थप उपचारका लागि काठमाडौं रिफर गरेको थियो ।

विगत चार दिनदेखि परेको अविरल वर्षाका कारण ओखलढुंगाबाट अन्य जिल्ला जोड्ने सडकहरू अबरुद्ध भएपछि श्रेष्ठलाई काठमाडौं ल्याउन सकिएको थिएन ।

श्रेष्ठको बारेमा जानकारी पाएपछि नेपाली कांग्रेसका युवा नेता खतिवडाले काठमाडौंबाट ओखलढुंगा मंगलबार हेलिकप्टर पठाएका थिए ।

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका श्रेष्ठले नेपाली कांग्रेसका नेता खतिवडालाई धन्यावाद दिएका छन् । ‘मेरो आफ्नै खर्चले हेलिकप्टरमा काठमाडौं आएर उपचार गर्ने क्षमता राख्दैन’, अरिँगालले टोकेर घाइते भएका श्रेष्ठले भने, ‘उहाँले निःशुल्क रुपमा हेलिकप्टरबाट मलाई काठमाडौं ल्याएर अस्पतालमा भर्ना गरिदिनुभएको छ । औषधि लगायत अन्य सुविधाका लागि पहल गरिदिनुभएको छ ।’

अरिँगालले टोकेर घाइते भएका श्रेष्ठसँगै ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाकी ६२ वर्षीया मनमाया तामाङलाई पनि खतिवडाले सोही हेलिकप्टरमार्फत काठमाडौं ल्याएर उपचार गराएका छन् ।

तामाङको खुट्टा भाँच्चिएको थियो । तामाङको मंगलबार नै त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया भएको छ ।

Published : Tuesday, 2019 July 16, 9:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया