कांग्रेसका शीर्ष नेताहरूलाई मिल्न कार्यकर्ताको दवाव

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेताहरूले पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउने गरेर गृहकार्य थालेपछि शुभेच्छुकहरूमा उत्साह थपिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालालाई विश्वासमा लिएर काम गर्ने प्रयास गरेका छन् ।

देउवाले बेलाबेला पौडेल र डा.कोइरालालाई आफ्नै निवास बुढानिलकण्ठमा बोलाएर डिनरसहितका परामर्श गर्ने गरेका छन् । देउवासँग बेलाबेला वार्ता गर्ने पौडेल र डा.कोइरालाका क्रियाकलापलाई खुम्चिएर बसेका कृष्णप्रसाद सिटौला समूहले रुचाएको छैन ।

सिटौलाले आफूलाई सर्वेसर्वाका रुपमा अगाडि बढाउन खोजेपछि पौडेल र डा.कोइरालाले पनि रुचाएका छैनन् । सिटौलाले कोइराला परिवारको बिरासत् आफू समक्ष आएको दावी गर्ने गरेका छन् ।

कांग्रेसको विधान मस्यौदा समितिमा सिटौलाले प्रदीप पौडेललाई पठाएपछि सिटौला समूहभित्र विवाद बढेको छ । सिटौला समूहमा सबैभन्दा जुनियर नेताका रुपमा चिनिएका प्रदीप पौडेललाई पठाएर गल्ती भएको गुनासो गगन थापासहितका नेताको छ ।

सिटौला समूहबाट गगन थापालाई समितिमा राख्ने तयारी भएको स्रोतको भनाइ छ । गगनसँग सिटौला सशंकित रहेका कारण पौडेललाई पठाएको बताइएको छ ।

यसैबीच, स्वर्गीय खुमबहादुर खड्काकी पत्नी शिला गौतम खड्काले कांग्रेसभित्र गुट चलाउने प्रयास गरेकी छिन् ।

शिलाले खुमबहादुरले संरक्षण गरेका नेताहरूलाई साथमा लिएर राजनीति गर्ने संकेत गरेकी हुन् । शिलाले छोरालाई राजनीतिमा स्थापित गर्ने योजनाका साथ गुट चलाउन थालेकी हुन् ।

खुमबहादुर खड्का समूहबाट शिलाले भन्दा पनि महामन्त्री पूर्णबहादुर खड्काले गुटलाई कब्जा गर्ने योजना बनाएको एक नेताले बताए । पूर्णबहादुरले खुमबहादुरको नाममा राजनीति गरेर गुटलाई आफू मातहत राख्ने योजना बनाएका छन् ।

सभापति देउवा, पौडेल, डा.कोइराला र अन्य साना समूह मिल्ने गृहकार्यमा रहे पनि सिटौला समूहले बखेडा झिकेर कम्युनिस्टहरूलाई फाइदा पुग्ने गतिविधि गरिरहेको आरोप छ ।

निर्वाचनमा भएको पराजयपछि कार्यकर्ताले कांग्रेसका शीर्ष नेताहरूलाई मिल्न दवाव दिइरहेका छन् । कार्यकर्ताको दवावलाई झेल्न प्रयास भए पनि ठोस परिणाम आउन सकेको छैन ।

Published : Thursday, 2018 August 30, 10:53 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया