३३ किलो सुन तस्करका यी अभियुक्तलाई राहत

काठमाडौं । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्त चेतन भण्डारी संचालक रहेको बाजेको सेकुवा प्रालि बन्द गर्नुको कारण देखाउन सरकारलाई आदेश दिएको छ ।

बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले बाजेको सेकुवा ब्रान्ड खारेजको निर्णय तत्काल कार्यान्वयन नर्गन/नगराउन सरकारका नाममा अन्तरिम आदेश समेत दिएको हो ।

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्याको अनुसन्धानका लागि सरकारले गृहका सह–सचिव ईश्वराज पौडेलको संयोजकत्वमा गठित समितिले जेठ ३० मा छापा मारेर बाजेका सबै सेकुवा रेष्टुरेन्टमा सिलबन्दी गरेको थियो ।

सरकारी अधिकारीहरूले संगठित अपराध निवारण ऐन २०७० अनुसार मोरङ जिल्ला अदालतको आदेशमा बाजेको सेकुवाका रेष्टुरेन्टमा छापा मारेका थिए ।

भण्डारीको पूर्ण स्वामित्वमा रहेका ५ र उनका नातेदार सञ्चालक रहेको १ गरी छ स्थानमा शिलबन्दी गरिएको थियो ।

सेकुवा प्रालिको तर्फबाट नितिमा भण्डारी कार्कीले भदौ १० मा कारवाही फुकुवाको माग राखेर रिट निवेदन दर्ता गराएकी थिइन् ।

३३ किलो सुन तस्करीमा संलग्न भएको पाइएपछि समितिले भण्डारीको सम्पत्ति र बैंक खाता रोक्का गरेको थियो ।

३३ किलो सुन तस्करी गिरोहका नाइके चुणामणि उप्रेतीमार्फत भण्डारीले लगानी गरेको प्रमाणसहित उनीविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । बाजेको सेकुवा प्रालिका रेष्टुरेन्टका मालिक भण्डारी फरार छन् ।

Published : Wednesday, 2018 August 29, 8:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया