महिनावारी भएकी हेमन्तीसँग ठूलो अन्याय गरेका थिए एसपी विष्टले

महेन्द्रनगर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले १७ वर्षीया किशोरी हेमन्ती भट्टलाई पनि पक्राउ गरेर चरम मानसिक तथा शारीरिक यातना दिएको खुलासा भएको छ ।

जनज्योति बहुमुखी क्याम्पसमा १२ कक्षामा अध्ययनरत हेमन्तीलाई एसपी डिल्लीराज विष्टको निर्देशनमा पक्राउ गरेर यातना दिएको रहस्य बाहिर आएको छ । गृहमन्त्री रामबहादुर थापाले निर्मलाको बलात्कार तथा हत्या आरोपमा जीवन घर्तीमगर र दीपक नेगी पक्राउ परेको जानकारी अघिल्लो दिन संसदमा दिएका थिए । अर्को दिन प्रहरीले ज्योति बहुमुखी क्याम्पसबाट हेमन्तीलाई पक्राउ गरिएको थियो ।

त्यस बेला हेमन्तीको महिनावारी चलिरहेको थियो । साउन १८ गते क्याम्पसबाट घर फर्केकी हेमन्तीलाई घरबाहिर खानाको तयारीमा रहेकै बेला पक्राउ गरिएको थियो । हेमन्तीलाई प्रहरीले खानसमेत नदिई जिल्ला प्रहरी कार्यालय लगेको पीडितले बताएकी छिन् ।

कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टले हेमन्तीलाई धम्की दिएर निर्मलाको बलात्कार र हत्या स्वीकार गर्न दवाव दिएका थिए । त्यस बेला एसपी विष्टले ‘मेरो पनि संलग्नता छ भनेर सकारिस् भने बच्छेस्, हैन भने तेरो भविष्य बर्बाद गर्दिन्छु’ भनेर धम्की दिएको हेमन्तीले बताएकी छिन् ।

हेमन्ती क्याम्पसमा पढिरहेका बेला कक्षाकोठाबाटै सहपाठी र शिक्षकहरूको सामुन्ने उनलाई प्रहरीले गलहत्याउँदै लगेर गाडीमा राखेर लगिएको थियो । हेमन्तीको शिर भुइँमा टेकाइयो, खुट्टा छततिर ठाडो पारियो । प्रहरीले लाठी हान्न थाले । पीडाले चिच्याइन् ।

तत्कालीन एसपी विष्टसामु हेमन्तीलाई खडा गरिएको थियो । एसपी विष्टले धम्काउँदै भने, ‘तँलाई हामीले यहाँ बोलाएर केरकार गरिरहेका छौँ भन्ने बाहिर कसैलाई भनिस् भने तेरो भविष्य चौपट हुन्छ । घरमा पनि सामान्य सोधपुछ भएको छ, अरू केही भएको छैन भनेस्, तेरो भलो हुन सक्छ ।’ हेमन्तीले चलाउने गरेको फेसबुकको पासवर्डसमेत प्रहरीले लिएको थियो ।

चौथो दिन हेमन्तीलाई हिरासतमा राखिएको थियो । भीमदत्त नगरपालिका–२ का वडाध्यक्ष डम्बर कार्कीसहित वडा उल्टेर प्रहरी कार्यालय पुगेपछि एसपी विष्ट ब्याक भएका हुन् ।

हेमन्तीले भनिन्, ‘मेरो कुनै गल्ती छैन । मलाई तपाईंहरूले कसरी जेलमा सडाउनुहुन्छ, हेरौँला ।’ कागज गराएर छाड्ने दिन ती इन्स्पेक्टरले भनेका थिए, ‘तिमीले हामीले भनेको मानेको भए यो केस उहिल्यै सल्टिन्थ्यो । अब कति दिन उल्झिने हो थाहा छैन । तर, तिमी हक्की रहिछौ, भविष्यमा नेता बन्ने छाँट छ ।’

Published : Wednesday, 2018 August 29, 11:11 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया