निर्मला हत्याका बारेमा के भन्छन् निलम्वित एसपी विष्ट ?

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्याका विषयमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्टले आफूलाई बचाएर पहिलो पटक अन्तर्वार्ता दिएका छन् ।

नयाँ पत्रिका दैनिकलाई निम्बनमापरेका एसपी विष्टसँग ‘दोषी पत्ता लगाउनेभन्दा पनि निर्दोषलाई फसाउन तपाईंको भूमिका भयो, त्यही आरोपमा तपाईं निलम्बित पनि हुनुभयो । तपाईंको प्रतिक्रिया के छ ?’ भनेर प्रश्न सोधिएको थियो । त्यो प्रश्नको जवाफमा उनले भनेका छन्, ‘अहिले म केही बोल्दिनँ ।’

सुरुमा जीवन घर्तीमगर र दीपक नेगी, पछि चक्रदेव बडूजस्ता निर्दोषलाई दश–दश दिनभन्दा बढी समय थुनेर मानसिक–शारीरिक यातना दिइयो । यो दमन किन ? भनेर सोधिएको प्रश्नको जवाफमा विष्टले भनेका छन्, ‘यस विषयमा सिआइबी र हाम्रो अनुसन्धान टोलीलाई सोध्नुहोस् ।’

नयाँ पत्रिका दैनिकले तपाईं जिल्लाको प्रहरी प्रमुख । तपाईंको निर्देशनविनै अनुसन्धान टोलीले ती गिरफ्तारी गरेको हो र ? भनेर कडा प्रश्न गरेको छ । जवाफमा उनले भनेका छन्, ‘प्रमुखको हिसाबले मेरो जिम्मेवारी हुन्छ । तर, अहिले म केही बोल्दिनँ ।’

त्यसो भए शंकाको घेरमा रहेको घरपरिवारलाई शंकाको सुविधा दिएर निर्दोष हेमन्ती भट्टलाई पक्राउ गरी किन यातना दिनुभयो ? त्यो अबोध किशोरीलाई टाउको तल खुट्टा माथि गरेर किन कुट्न तपाईंले नै निर्देशन दिनुभएको होइन ? भन्ने प्रश्नको जवाफमा उनले भनेका छन्, ‘यस विषयमा सिआइबीलाई र हाम्रो अनुसन्धान टोलीलाई सोध्नुहोस्, म अहिले केही बोल्दिनँ ।’

एसपी विष्टलाई जिल्लावासीको सुरक्षामा खटिएको प्रमुखले उल्टै नागरिकलाई यातना दिएको विषयमा यसरी पन्छिन मिल्छ ? भनेर सोधिएको प्रश्नको जवाफमा उनले ‘म समय आएपछि बोल्छु’ भनेका छन् ।

हेमन्ती भट्टले दिएको यातना र धम्कीका बारेमा एसपी विष्टले भनेका छन्, ‘म यस विषयमा केही बोल्दिनँ । यो अनुसन्धानको विषय हो ।’

बम परिवारको पुरानै चिनजान भएकाले उनीहरूको पक्षपोषण गर्नुभएको छ, आवतजावत पनि थियो भन्ने चर्चामा आइरहेको छ । तपाईंको प्रतिक्रिया के छ ? भनेर सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘जिल्ला एउटै पर्नु संयोग होला, तर मैले निर्मला पन्तको घटनापछि मात्रै बम परिवारबारे थाहा पाएको हुँ ।’

निर्मला पन्त बलात्कार र हत्याकाण्डमा गलत अनुसन्धान गरेर निर्दोषलाई फसाउन खोजेको तथा दोषीलाई भगाउन खोजेको भनेर आलोचना भएपछि गृहमन्त्रालयले एसपी विष्टलाई निलम्बन गर्न प्रहरी मुख्यालयलाई निर्देशन दिएको थियो । त्यसपछि विष्ट निलम्बनमा छन् ।

Published : Wednesday, 2018 August 29, 10:48 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया