गगनको कडा प्रश्नले अल्झिए ओली, कांग्रेस समक्ष नतमस्तक

काठमाडौं । नेपाली कांग्रेसका युवानेता तथा सांसद गगनकुमार थापाले प्रतिनिधि सभामा आक्रामक शैलीमा प्रस्तुत भएका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई प्रतिरक्षात्मक बन्न बाध्य बनाएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बिमस्टेक सम्मेलनको विषयमा जानकारी दिन विशेष समयमा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले यसअघिका सरकारले संविधान कार्यान्वयनका लागि कुनै पनि काम नगर्दा आफूले सरकारको नेतृत्व लिएपछि त्यी अधुरा काम गर्न लाग्दा सरकार अलमलमा परेजस्तो भएको भन्दै कांग्रेस नेतृत्वको सरकारको आलोचना गरेका थिए ।

ओलीले सम्बोधन सक्नेवित्तिकै संसद कार्यसञ्चालन नियमावली बमोेजिम सभामुखले सांसदहरूलाई प्रत्यक्ष प्रश्नोत्तरको समय दिएका थिए ।

कांग्रेस नेता एवम् सांसद थापाले संविधान निर्माणपछि बनेका सरकारको समयावधिमध्ये ७५ प्रतिशत समय प्रधानमन्त्री ओली नेतृत्वको सरकारसँगै उनैका पार्टीका द्वितीय अध्यक्ष (प्रधानमन्त्रीजीकै पार्टीको जहाज हाँक्ने को–पाइलट) पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार रहेको उदाहारण दिए । थापाले त्यो समय (प्रचण्डको पाला)मा नभएको कामको जिम्मा पनि लिनु हुन्छ भनि प्रश्न गरेका थिए ।

थापाको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले व्यंग्यात्मक शैलीमा भने, ‘क्याल्कुलेटर बोक्नु भएछ कि क्या हो, ७५ प्रतिशतका कुरा गर्नु भयो । परसेन्टेज एक्ज्याक्टली कति हुन्छ, कि मिक्स परसेन्टेज निकाल्नु भएन कि जस्तो लाग्छ ।’

ओलीले विगतको सरकारले केही नगरेको विषय तथ्यगतभन्दा पनि आफ्नो नेतृत्वको सरकारका विरुद्ध भइरहेको निरन्तर हमलाका कारण प्रतिरक्षाका लागि भनेको स्पष्टीकरण दिए । सांसद थापाले २०७२ साल असोजमा नयाँ संविधान निर्माण भएपछि गत निर्वाचनसम्मको अवधिसम्म बनेका सरकारको समयावधि र त्यसबीचमा नभएका कामकोबारे प्रश्न गरेका थिए ।

प्रधानमन्त्री ओलीले कांग्रेस युवा नेता थापाको प्रश्नलाई गोलमटोल बनाउँदै २०५१ सालपछिको त्रिशंकु संसदमा तत्कालीन नेपाली कांग्रेस र नेकपा (एमाले)ले तत्कालीन राप्रपा नेताद्वय सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दसँग मिलेर सरकार बनाएको इतिहास सुनाए ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले संविधान निर्माण गरेपछाडि अगाडिको सरकारल काम नगरेकोले गर्दा धेरै दुःख पाएँ भनेर भन्नु भयो । सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराउँदै सोध्न चाहन्छु, संविधान जारी भइसकेपछि यहाँसमम आइपुग्दै गर्दा ७५ प्रतिशत समय सरकार कसले चलाएको हो ?’, थापाले संसदमा प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै सोधेका थिए, ‘ सम्माननीय प्रधानमन्त्रीज्यूको सरकार वा सम्माननीय प्रधानमन्त्री ज्यूको पार्टीको जहाज हाँक्ने को पाइलटले चलाउनु भएको सरकारको समयलाई जोड्दै गर्दा ७५ प्रतिशत समय पुग्छ। त्यो ७५ प्रतिशत समयमा काम गर्न नसकेको कुराको जिम्मा सम्माननीय प्रधानमन्त्री लिन तयार हुनु हुन्छ ?’

जवाफमा प्रधानमन्त्री ओलीले, ‘एउटा कुरा क्याल्कुलेटर बोक्नु भएछ कि क्या हो ७५ परसेन्टका कुरा गर्नु भएको थियो । परसेन्टेज एक्ज्याक्ली कति हुन्छ, कि मिक्स परसेन्टेज निकाल्नु भएन कि जस्तो लाग्छ । अर्थात हामीले के थाहा पाउनु पर्यो भने हमला गरिरहदाखेरि पनि हामी कति कति बेला कांग्रेस र एमालेले धेरै पल्ट संयुक्त सरकार चलाएका थिए । कांग्रेस र माओवादीले पनि संयुक्त सरकार चलाएको हो। कांग्रेस र राप्रपाले पनि सरकार चलाएको हो । हामीले इतिहासमा कहिले लोकेन्द्र जीलाई प्रधानमन्त्री बनाएर पनि चलायौँ त कहिले सूर्यबहादुरजीलाई पनि बनाएर चलायौँ । आफूभित्र मान्छे नभएको त होइन होला । यी परसेन्टेजका कुरा त होलान । मेरो आग्रह के छ भने मैले कुनै मौलिक प्रश्नको हिसाबमा उठाएको होइन । तर, हमला भइरहदा खेरि त्यो हमला, मुलुकी ऐन अहिले कार्यान्वयन भयो, बन्यो पोहोर। तैपनि हमला ? अब त्यसमा परसेन्टेज कसरी निकाल्नु हुन्छ ।’

Published : Tuesday, 2018 August 28, 7:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया