राष्ट्रवादी कम्युनिस्ट सरकारले भारतीय सेना र ‘रअ’लाई किन दियो अनुमति ?

काठमाडौं । राष्ट्रवादको नारा लगाएर झण्डै दुई तिहाई बहुमत पाएको वर्तमान कम्युनिस्ट सरकारले भारतीय सुरक्षाकर्मीलाई काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रवेशको अनुमति दिएको खुलासा भएको छ ।

बिमस्टेक सम्मेलन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाको बहानामा छिमेकी राष्ट्र भारतले आफ्ना सुरक्षाकर्मीलाई काठमाडौंमा पठाएको हो ।

मोदीको सुरक्षाका नाममा भारतीय सेनाका विशेष फोर्स काठमाडौंमा विगत एक हप्तादेखि सक्रिय छ । भारतीय गुप्तचर निकाय ‘रअ’का सुराकीहरू पनि एकहप्ता अगाडिदेखि काठमाडौंमा उपस्थित रहेको स्रोतले जनाएको छ ।

भारतीय सेनाको स्पेसल टास्क फोर्स र ‘रअ’का सुराकीहरू काठमाडौंमा सक्रिय भएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कार्यकर्ताले प्रधानमन्त्री खड्गप्रसाद ओलीको विरोध गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नै देशका सुरक्षाकर्मी सक्षम हुँदा हुँदै भारतलाई त्यहाँको सुरक्षाकर्मी काठमाडौं र तराईका जिल्लाहरूमा किन प्रवेशको अनुमति दिएको भनेर प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा भारतीय सुरक्षाकर्मी काठमाडौं प्रवेश गरेकोमा ठूलो आलोचना भएको छ ।

नेकपाका दोस्रो तहका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ कान्छा ज्वाइँ जीवन आचार्यले भारतीय सेना काठमाडौंमा एकहप्तादेखि हालिमुहाली गरेको भनेर आलोचना गरेका छन् ।

मोरङ जिल्लाबाट राजनीति गर्दै आएका र प्रचण्डसँगै खुमलटारस्थिट घरमा घरज्वाइँका रुपमा बस्दै आएका आचार्यले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर भारत सेनाको र सुरक्षा निकायको आलोचना गरेका हुन् ।

उनले भनेका छन्, ‘छिमेकी सरकार प्रमुख नेपालमा आउँदा छिमेकी सेनाले हप्तादिन अगाडिबाट नै काठमाडौंलाई घेरा हाल्नु एउटा सार्वभौम सम्पन्न, आफ्नै मौलिक इतिहाँस बोकेको स्वतन्त्र राष्ट्रका लागि यो लज्जाजनक कुरा हो । र, अन्तर्राष्ट्रिय कुटनैतिक मर्यादाले पनि यसो गरिनुलाई राम्रो मान्दैन ।’

बिमस्टेक सम्मेलनको सुरक्षा नेपाली सेनाले दिने निर्णय सरकारले गरिसकेको छ । सेनाको कमाण्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले सुरक्षा दिनेछन् ।

नेपालका सुरक्षा निकायलाई अविश्वास गरेर भारतले आफ्ना सैनिकका साथै गुप्तचर संस्था ‘रअ’लाई काठमाडौंमा एकहप्ता अगाडिदेखि क्रियाशील बनाएकोमा आलोचना भएको हो ।

यसअघि पनि भारतीय प्रधानमन्त्री मोदीले नेपाली सुरक्षाकर्मीहरूको अविश्वास गरेर नयाँदिल्लीबाटै सुरक्षाकर्मी नेपाल पठाएका थिए । त्यस बेला पनि भारतको आलोचना भएको थियो ।

Published : Tuesday, 2018 August 28, 9:44 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया