माधवको गोप्य भेलाले तनावमा ओली, भुसाल–भट्टराई बेपत्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीको चरम पेलानमा परेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकटका नेताहरू गोप्य भेला गरेका छन् ।

राजधानीमा आइतबार आयोजित भेलामा नेता नेपालले ओली समूहबाट पेलानमा परेको बताएका हुन् । प्रदेश र जिल्ला एकता सम्पन्न नहुँदै नेकपाभित्र ठूलो विवाद देखिएको हो ।

पूर्वएमालेभित्र फरक समूहको प्रतिनिधित्व गर्ने नेपाल समूहले नेतृत्वका लागि सिफारिस नाममा पुनर्विचार नभए समानान्तर प्रदेश र जिल्ला कमिटी गर्ने चेतावनी दिएको हो ।

ओलीले एक दर्जनभन्दा धेरै जिल्लामा एकलौटी रुपमा सिफारिस गरेको भन्दै नेपाल समूहले आरोप लगाएको छ । नेपाल समूहले आफूविरुद्ध गोप्य भेला गरेको थाहा पाएपछि ओलीले चिन्ता जनाएका छन् । ओलीले नेपाली समूहलाई फुटाउने गरेर योजना बनाएको स्रोतको भनाइ छ ।

एकीकरण कार्यदलमा रहेका ओलीनिकट नेताहरूले आफ्नो गुट बलियो बनाउने गरी प्रत्येक जिल्लामा फरक मापदण्ड बनाएको नेपाल समूहको आरोप छ ।

पूर्वएमालेले बाँडफाँडमा ४० जिल्लाको नेतृत्व पाएकोमा ३० भन्दा बढी जिल्लाको नेतृत्व पूर्वएमालेको ओली समूहले लिने तयारी गरेको छ ।

उता, बाँडफाँडका क्रममा पूर्वमाओवादीले २६ जिल्लाको नेतृत्व पाइसकेको छ ।

प्रदेश ५ मा पूर्वएमाले समूहमा बढी असन्तुष्ट छ । प्रदेशका ५ सँगै अन्य प्रदेशका असन्तुष्ट नेता–कार्यकर्ताले नेता नेपाल मात्र होइन, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेललगायतलाई भेटेर एकीकरण कार्यदलको सिफारिस सच्याउन आग्रह गरेको छ ।

सुरेन्द्र मानन्धरले महासचिव पौडेलसहितका नेताहरूलाई भेटेरै एकलौटी सिफारिस सच्याउन ध्यानाकर्षण गराएको बताए ।

गोप्य बैठकमा नेता सुरेन्द्र पाण्डे, बेदुराम भुसाललगायत एक दर्जन सहभागी रहेको स्रोतले जनाएको छ । एक सातासम्म अस्वस्थ रहेका नेता नेपालले असन्तुष्टि बढ्दै गएपछि आइतबारबाट निकटस्थ नेता–कार्यकर्तासँग पछिल्लो अवस्थाबारे भेटघाट गरेर रिपोर्टिङ लिन सुरु गरेका छन् ।

नेपाल समूहका घनश्याम भुसाल, योगेश भट्टराईलगायत भने गोप्य बैठकमा सहभागी थिएनन् ।

Published : Monday, 2018 August 27, 11:20 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया