कम्युनिस्ट सरकारले शान्ति सुरक्षा बनाउन सकेनः कांग्रेस

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मुलुकमा शान्ति सुरक्षा खस्कदै गएको भन्दै चिन्ता जनाएको छ ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा कांग्रेस सांसद अनिता देवकोटाले वर्तमान कम्युनिस्ट सरकारले शान्ति सुरक्षामा हेलचेक्राइ गरेकै कारण बालक अपहरण र हत्या तथा महिला हिंसाको घटना दिन प्रतिदिन बढ्दै गएको बताएकी हुन् । ‘शान्ति सुरक्षा खस्कदो अवस्थामा छ’, उनले भनिन्, ‘सर्वसाधारणहरू चन्दा आतंक, बलात्कार, महिला हिंसा बढ्दै गएको छ ।’

सांसद देवाकोटाले निशान खड्का जस्तो सानो बालकको अपहरणपछि हत्या भएको भएको भन्दै प्रहरीले उचित कदम उठाउन नसक्दा ज्यान गएको बताइन् ।

उनले मुलुकमा बढ्दै गएको चन्दा आतंकले सर्वसाधारणहरू आजित बनेको बताइन् । ‘अव्यवस्थित रुपमा कर उठाएका कारण सर्वसाधारण आतंकित बनेका छन्’, उनले भनिन्, ‘यस्तो अवस्थामा विभिन्न समूहले चन्दा उठाएर झनै आतंक मच्चाएका छन् । सरकारले शान्ति सुरक्षा दिन नसकेकै कारण चन्दा आतंक भएको हो ।’

कञ्चनपुर, काभ्रे, कैलालीलगायतका जिल्लामा किशोरीहरू हिंसामा परेको भन्दै कांग्रेस सांसद देवकोटाले भनिन्, ‘शान्ति सुरक्षा कमजोर भएकै कारण आपराधिक मनोवृत्ति भएका व्यक्तिहरूले क्रुर योजनालाई अञ्जाम दिएका छन् ।’ अपहरणपछि बलात्कार र अपहरण गर्नेहरूलाई हदैसम्मको कारबाही गर्न उनले माग गरिन् ।

‘हाम्रा छोरीको सुरक्षा गर्न सकिएको छैन । बाबु, दाजुभाई, गुरु र समाजका प्रतिष्ठित व्यक्तिबाट बलात्कृत हुनबाट रोक्न सकिएको छैन’, देवकोटाले भनिन्, ‘बलात्कारी र हत्यारा अपराधीहरू खुलेआम हिँडेका छन् । उनीहरूलाई छिटोभन्दा छिटो कारबाही हुनुपर्छ ।’

ज्योति पौडेलको घटनापछि सर्वोच्च अदालतका न्यायाधीश बलराम केसी र अबधेशकुमार यादवको संयुक्त ईजलासले २०६६ साउन २८ गते फास्ट्रयाक अदालत बनाउन आदेश दिएको स्मरण गराउँदै कांग्रेस सांसद देवकोटाले भनिन्, ‘फास्ट्रयाक अदालत कहिले बन्छ ?’ फास्ट्रयाक अदालतमा महिला न्यायाधीश र महिला अधिवक्ता राख्ने अदालतको आदेश थियो ।

Published : Tuesday, 2018 August 14, 9:28 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया