कम्युनिस्ट सत्तामार्फत अकुत कमाउँदै धुर्मुस-सुन्तली

काठमाडौं । देशै सबैभन्दा पुरानो वीर अस्पताल सरसफाइ गरेबापत धुर्मुस–सुन्तली फाउन्डेसनले सरकारसँग करिब ७० लाखको बिलको रकम माग गरेको छ ।

अस्पतालको सरसफाइ र रङरोगन गर्ने क्रममा रकम अभाव भएपछि फाउन्डेसनले सरकारसमक्ष रकमको माग गरेको हो । कम्युनिस्ट सरकारले पनि फाउन्डेसनलाई ७० लाख दिने निर्णय गरेको छ ।

सरकारसँगको मिलोमतोमा फाउन्डेसनले ६९ लाख ८६ हजारको बिल पेस गरेको छ । वीर अस्पताल फोहोर भएको भन्दै फाउन्डेसनले २३ वैशाखमा १५ दिने सरसफाइ अभियान सुरु गरेको थियो । सरसफाइबारे खेम्स क्लिनिङका खेम शर्मासँग सहकार्य गरेका थिए ।

स्वास्थ्य मन्त्रालयले वीर अस्पताल र ट्रमा सेन्टरमा १५–१५ दिनको सफाइ अभियान चलाउन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ क्षेत्र सफाइ गरेको खेम्स क्लिनिङका संयोजक खेम शर्मासँग सहकार्य गरेको थियो । करिब ७० लाख अपुग भएको फाउन्डेसनले जनाएपछि सरकारले १० साउनमा मागेजति रकम दिने निर्णय गरेको थियो ।

अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटबाट उपलब्ध गराउने जनाएको छ । धुर्मुस सुन्तली फाउण्डेसले रङ लगाउने क्रममा ज्यालामा मात्रै ४३,२२,४०० खर्च भएको जनाएको छ ।

खाना–खाजा खर्च १५,०१,२८०, रङ खर्च ३९,६१,३७२, यातायात, फोन, पानी १,९३,९५२ गरी जम्मा लागत ९९,७९००४ खर्च भएको बिल धुर्मुस सुन्तली फाउण्डेसनले पेस गरेको छ ।

यति धेरै रकम खर्च गर्न सार्वजनिक खरिद ऐन अनुसार प्रक्रिया पुर्याउनुपर्ने र टेण्डर गर्नुपर्ने भएपनि सरकारले कुनै प्रक्रिया नै पूरा नगरेर बजेट भुक्तानी गरेको छ । धर्मुस–सुन्तलीले राम्रो काम गरिरहेको भनेर सर्वसाधारणले समर्थन गरिरहेका बेला त्यो समर्थनको दुरुपयोग हुन थालेको छ ।

Published : Tuesday, 2018 August 14, 11:14 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया