‘प्रचण्ड’को पत्तासाफ हुँदै, डेञ्जर जोन पुगे

चितवन । कहिले भावनामा बगेर रुने त कहिले हाँसेर जनतालाई आफ्नो पक्षमा तान्न माहिर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन माडीका जनतासँग माफी मागेर आफ्नो नयाँ छेपारे प्रवृति देखाएका छन् ।

राजनीतिको दाउ पेच मिलाउन जान्ने चतुर खेलाडीका रुपमा परिचित छन् प्रचण्ड । १२ वर्ष पछि खोलो पनि फर्कन्छ भने झैं २०६२ जेष्ठ १८ गते माडीस्थिति बाँदरमुढेमा एम्वुस विस्फोट गराउँदा ४३ जना निर्दोष जनताको ज्यान गएको थियो भने दुई दर्जन बढी अंग भंग (घाइते) भएको घटनालाई अहिले उनले नै कोट्याउने प्रयास गरेका छन् ।

उक्त घटना अत्यन्तै निकृष्ट, आततायी र घिनलाग्दो घटना भएको भन्दै संसारभर माओवादीको तिखो आलोचना भएको थियो । माओवादी सशस्त्र युद्ध अन्त्य भएपछि यो अवधिमा ३ पटक सत्तामा पुगे पनि बाँदरमुढे घटनाका पीडितहरुले राहत क्षतिपूर्ति पाउन सकेका छैनन् ।

आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा चुनावमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनको क्षेत्र नं. ३ मा चुनाव लड्न उम्मेदवारी दिएका छन् । उनले उम्मेदवारी दिएको क्षेत्रमा माडी क्षेत्र पनि पर्ने र बाँदरमुढे घटनाका कारण आफू संकटमा पर्ने देखेपछि त्यसवाट मोचन पाउन पीडित परिवार लगायतका मतदाताहरुसँग माफी मागेका छन् ।

अवसरवादी चरित्र वोकेका पात्र प्रचण्डलाई आफ्नो स्वार्थ पूर्ति गर्न बाँस झै नुगेर माफी माग्न कुनै लाज लाग्दैन । छिन मै भावकु भएर आँसु झार्न पनि सक्ने, छिनमै कठोर भएर माइन जस्तै विस्फोट हुन जान्ने सत्ता राजनीतिका खेलाडी प्रचण्ड चितवन ३ बाट चुनाव जित्न जे पनि गर्न तयार छन् । छोरीलाई चुनाव जिताउन राज्यकोषको दोहन गरेको आरोप लागेका प्रचण्ड आफ्नो जितका लागि पनि साम, दान दण्ड भेद सबै नीति प्रयोग गर्न सक्ने मुडमा प्रस्तुत भइरहेका छन् ।

जनतालाई झुक्याउदै आफ्नो प्रभावमा पार्न बाँदरमुढे घटनाका दोषीलाई कारवाही गर्ने र पीडितलाई राहत दिन भन्दै झुटको पुलिन्दा बोकेर चितवन झरेका छन् प्रचण्ड । चितवनका जनता सचेत छन् । १२ वर्ष देखि पिडामा पिल्सिएका जनताहरु उनको फोस्रो आश्वासनबाट झुक्किने अवस्थामा छैनन् । दशक अघि देखि चितवनबाट फरार प्रचण्ड सत्तामा जाने भ¥याङ खोज्दै चितवन पुगेका धेरैको ठम्याई छ ।

छोरी रेणु दहाल भरतपुर महानगर प्रमुख भएका कारण त्यहाँको स्रोत साधन दुरुपयोग गर्ने दाउमा लागेका प्रचण्ड गठवन्धन गरेपछि आफैले सिध्याएका चितवनका लोकप्रिय नेता देवी ज्ञवाली समेतलाई दण्डवत गरेर आफ्नो कित्तामा ल्याउन सफल देखिएका छन् ।

तर, प्रचण्ड भने बाँदरमुढे घटनाका दोषीलाई सत्य निरुपण तथा मेलमिलाप आयोगले जुनसुकै कारबाही गरे पनि स्वीकार गर्ने बताएर भोट माग्दै हिंडेका छन् । यहि समयमा पीडित जनताहरुले विज्ञप्ती नै निकालेर प्रचण्डलाई पुरानो घाउ नकोट्याउन चेतावनी दिएका छन् । जस्तो सुकै गठवन्धन भएपनि चितवनवासीहरु हिजोको मुटु चुडाउने पीडा भुल्ने पक्षमा छैनन् । नियत सफा थियो र गल्ती महसुस भएको थियो भने १२ वर्षसम्म कहाँ गएका थिए प्रचण्ड ? पिडितका आफन्तहरुले तेस्र्याएको यो प्रश्नको उत्तर दिने नैतिक हिम्मत प्रचण्डसँग छैन ।

त्यसो त बुथ कब्जा गरेर भए पनि प्रचण्डले चितवनमा चुनाव जित्ने सपना पनि देखेका छन् । स्थानीय निर्वाचनमा छोरी रेणु दाहाललाई मेयरमा जिताउन एसपी दिपक थापा मार्फत मतपत्र च्यात्न लगाई पुनः निर्वाचन गराएर पैसाको खोलो बगाएका थिए । त्यतिबेला नेपाली कांग्रेससँग मिलेका प्रचण्ड अहिले भने एमालेसँग मिलेर चितवनमा बुथ कब्जा गर्नेसम्मको योजना बुन्न थालेको कांग्रेस कार्यकर्ताहरु बताउँछन् ।

२४ घण्टा नै मदिरा पिएर लठ्ठिएर हिड्ने राप्रपा चितवनका अध्यक्ष बद्रि तिमिल्सिनालाई ५० लाख खर्च गरी पार्टीमा भित्र्याएपछि प्रचण्डले नयाँ फण्डा फाल्दै भनेका छन्–‘तिमिल्सिना साहसिक व्यक्ति हुन्, दुई दिनमै त्यसको असर देखिसकेको छ ।’ तर, चितवनबासीहरुलाई तिमिल्सिनाको हैसियत र प्रचण्डको चुनावी माहोलको बारेमा राम्रोसँग जानकारी रहेको कांग्रेस र राप्रपाका केही नेताहरु बताउँछन् ।

प्रचण्ड एमालेसँगको गठवन्धनको बलमा चितवन ३ पुगेका छन् । मत पत्र च्यातेर कपट पूर्ण हार वेहोरेका देवि ज्ञवालीलाई ओली जाप मन्त्र लगाएर भएपनि आफ्नो कित्तामा ल्याएका कारण प्रचण्ड वढी हौसिएका छन् । तर, द्धन्द्धकालको नृशंस घटनाको कालो छायाँवाट चितवन बासीहरुको सातो फर्कन सकेको छैन । देवी ज्ञवाली र ओलीको कपटी पासा र प्रचण्डको रुन्चे भाषावाट यसपटक जनताको आँखामा छारो हाल्न सक्ने अवस्था छैन । टुरिष्ट नेता जो वर्षमा एक पटक भाषण गर्न मात्र गाउँ फर्कन्छन् उनीहरुवाट जनताले न्याय अनुभूति गर्न सक्दैनन् ।

चितवनको ३ नम्बर क्षेत्र यस अघि पनि विक्रम पाण्डे एक्लैले जितेको निर्वाचन क्षेत्र हो । पाण्डे स्थानिय लोकप्रिय नेता मानिन्छन् । जनताका सुख दुःख र विकास निर्माणमा सकृय उनलाई यसपटक नेपाली कांग्रेसको साथ छ । यो चुनावमा मत पत्र च्यातेनन् भने प्रचण्डलाई चुनाव जित्न फलामको च्यूरा बन्न सक्छ । एमालेका शिर्ष नेताले गरेको माओवादीसँग तालमेल इमान्दार छविका एमाले कार्यकर्ताहरु स्वयमलाई चित्त वुझेको छैन । वाम गठवन्धनकै भोट क्रस भएर विक्रम पाण्डेले पाउने चितवनका वुद्धिजिवीहरुले आंकलन गरेका छन् । सत्ता स्वार्थ र व्यक्तिगत लाभहानी वाहेक यो गठवन्धन चितवनमा असफल हुने अवस्था रहेको छ ।

– यूनाइटेड पोष्ट साप्ताहिकबाट

Published : Thursday, 2017 November 9, 3:19 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया