ठमेलमा प्रहरी कुट्ने एमाले अखिलका टोले गुण्डाका नाइके जोशी पक्राउ

काठमाडौं । प्रहरीले एमाले निकटको अनेरास्ववियु (अखिल)का नेता कमल जोशीलाई पक्राउ गरेको छ ।

दवाव परेपछि प्रहरीले बिहीबार दिउँसो नयाँ बानेश्वरबाट जोशीलाई पक्राउ गरेको हो । जोशी अनेरास्ववियुको स्थायी कमिटी सदस्य पनि हुन् । उनको अपराधको जालो लामो छ । जोशीविरुद्ध कीर्ते, अभद्र लगायत विभिन्न मुद्दा लागिसकेको छ ।

बझाङको साविक मौलाली गाविस–३ हाल दुर्गाथली गाउँपालिका–४ स्थायी घर भएका २९ वर्षीय जोशीविरुद्ध २०७९ सालमा दुई वटा फौजदारी कसूरमा मुद्दा चलेको थियो । जोशीको फौजदारी अपराध यात्रा हत्या अभियोग, कीर्ते तथा लिखतसम्बन्धी कसूरबाट शुरु भएको थियो ।

जोशी र उनको समूहले काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोप छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपीलराज बोहराले जोशीलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको बताएका छन् ।

घटनापछि जोशी फरार थिए । घटना हुँदा जोशीसँगै रहेका पाँच जनाविरुद्ध भने पक्राउ पुर्जी जारी भएको थियो । जोशीलाई उन्मुक्ति दिएको भन्दै चौतर्फी आलोचना भएको थियो । पक्राउ पुर्जी जारी भएकामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ५ का २२ वर्षीय रमेश फुलारा प्रहरी हिरासतमा छन् ।

जोशीको समूहले माघ २४ गते राति ठमेलमा ड्यूटीमा रहेका प्रहरी हवल्दार जगुलाल चौधरी र प्रहरी जवान नगेन्द्रराज बिष्ट कुटिएको भिडियोमा देखिएको छ ।

दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी)को टोलीमाथि जोशीको समूहले आक्रमण गरेको थियो ।

मध्यराति हो–हल्ला गर्दै हिँडेपछि प्रहरीले जोशीको समूहलाई सम्झाउन खोजेको थियो । मोटरसाइकलमा सवार दुई प्रहरीको मोटरसाइकल लडाउँदै लौरो समेत फालिएको थियो ।

आक्रमणबाट प्रहरीको बर्दी च्यातिनुका साथै हेल्मेट समेत फुकालेर प्रहरीलाई हिर्काइएको थियो । जोशीले समेत प्रहरीलाई औंलो ठड्याउँदै चेतावनी दिएको भिडिओमा प्रष्ट देखिन्छ ।

Published : Thursday, 2025 February 13, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया