मन्त्री पाण्डे र प्रदीपबीच खण्डहरमा गोप्य वार्ता, महानिर्देशकलाई १२औँ तहमा बढुवा गर्ने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफ्नो पदीय गरिमालाई भुलेर नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई भेट्न गएको रहस्य बाहिरिएको छ ।
बुधबार दिउँसो बबरमहलमा रहेको प्राधिकरणको पुरानो (खण्डहर) भवनमा मन्त्री पाण्डे महानिर्देशक अधिकारीलाई भेट्न गएको उच्च स्रोतले जनाएको छ । केही समय पाण्डे र अधिकारीबीच गोप्य कुराकानी भएको छ ।
नेपाली कांग्रेसबाट मन्त्री बनेपछि पाण्डेले काठमाडौंको मध्य बानेश्वरमा रहेको ससुराली नजिकै घर किनेको भनेर आरोप लागेको थियो । पाण्डेकै पार्टी नेपाली कांग्रेसका प्रतिनिधि सभाका सांसद राजेन्द्र बजगाईंले समेत भ्रष्टाचार काण्डमा गम्भीर आरोप लगाएका थिए । पाण्डेको नाममा घर नरहेको भनेर केही समय अगाडि ठूलो चर्चा चलेको थियो ।
प्राधिकरणको बबरमहलमा रहेको खण्डहर बनेको भवनमा उनीहरूका बीच महानिर्देशक अधिकारीलाई ११औँ तहबाट १२औँ तहमा बढुवा गर्ने विषयमा कुराकानी भएको उच्च स्रोतको भनाइ छ । प्राधिकरण सञ्चालक समितिको बोर्डको बैठक शुक्रबार बस्न लागेको छ । नियम विपरित आफू बढुवा हुन अधिकारीले मन्त्री पाण्डेलाई खण्डहरमा बोलाएका हुन् ।
२०७८ माघ १६ गते ६ जना १२औँ तहका कर्मचारीहरूलाई हुत्याएर ११औँ तहका अधिकारीले महानिर्देशक पद पड्काएका थिए । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई खुसी पारेर ११औँ तहका अधिकारीले कसरी महानिर्देशक पद पाए त्यो प्राधिकरण र मन्त्रालयभित्र धेरैले जिब्रो टोकेर अहिले पनि चर्चा गर्ने गरेका छन् ।
महानिर्देशक अधिकारीको ११औँ तहको पद ‘पुल’ अर्थात् जगेडामा छ । महानिर्देशक पदको कार्यकाल सकियो भने अधिकारीले जागिर खान चाहेमा ११औँ तहमा बसेर जागिर खानुपर्छ ।
यो बाध्यतालाई हटाउन महानिर्देशक अधिकारीले आफूलाई १२औँ तहमा बढुवा गर्न लगाउन मन्त्री पाण्डेलाई ठूलो प्रलोभनमा पारेको आरोप छ । सोही विषयमा डिल गर्न मन्त्री पाण्डे र महानिर्देशक अधिकारीबीच प्राधिकरणको खण्डहर भवनमा गोप्य कुराकानी भएको स्रोतको आरोप छ ।
१२औँ तहका ६ जना वरिष्ठ अधिकृतहरू हुँदाहुँदै ११औँ तहका कनिष्ठ अधिकृतलाई महानिर्देशक बनाएको प्राधिकरणको महानिर्देशक पदको इतिहाँसमा यो पहिलो घटनामा पर्छ ।
महानिर्देशक अधिकारीलाई ११औँ तहबाट १२औँ तहमा बढुवा गर्न नमिल्ने नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी सेवा सुविधा सम्बन्धि नियमले प्रष्ट पारेको छ । ११औँ तहका अधिकारी ४ वर्ष अगाडि महानिर्देशक बनेका थिए । ४ वर्षदेखि अधिकारीको कार्यसम्पादन मूल्याङ्कन छैन । कार्यसम्पादन मूल्याङ्कन नै नरहेका अधिकारीलाई १२औँ तहमा बढुवा गर्न मन्त्री पाण्डेले जोडबल गरेका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी सेवा सुविधा सम्बन्धि नियम २०६५ को नियम ३.१ को ६ र ७, ६.५ को ४, ६.५ को ६ र ६ को १४ को व्यवस्था विपरित बढुवा गर्न लागेको आरोप छ । १२औँ तहमा बढुवाका लागि सो नियमले ४ वर्षको कार्यसम्पादन मूल्याङ्कनका साथै शैक्षिक योग्यता, जेष्ठता लगायतको अंक जोडेर बढुवाका लागि सिफारिस गर्नु पर्ने हुन्छ ।
अधिकारी ०७८ सालमा महानिर्देशक बनेका थिए । अधिकारी हालसम्म महानिर्देशक पदमा कार्यरत छन् । ११औँ तहको कार्यसम्पादन मूल्याङ्कन नभरेका अधिकारीलाई कुन नियममा टेकेर मन्त्री पाण्डेले १२औँ तहमा बढुवा गर्न लागेका हुन् प्रश्न उठेको छ ।
महानिर्देशक र १२औँ तहमा बढुवा हुने एउटै व्यक्ति भएको हुँदा एउटै व्यक्तिलाई दुई पद सिर्जना हुन अधिकारीले शक्तिको चरम दुरुपयोग गरेको आरोप छ ।
महानिर्देशक अधिकारी निकै विवादित र बद्नाम छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएर विशेष अदालतमा मुद्दा दायर गर्न फाइर अन्तिम चरणमा पुर्याएको छ । कुनै पनि बेला अधिकारी महानिर्देशक पदबाट निलम्बनमा पर्ने सम्भावना छ ।
महानिर्देशक अधिकारीका कारण पोखरा विमानस्थल प्रकरणमा अख्तियारमा बयान दिनेमा ई.चाँदमाला श्रेष्ठ, विनेश मुनकर्मी, प्रवीण न्यौपाने, बाबुराम पौडेल लगायतले बयान दिइसकेका छन् । पोखरा अन्तर्राष्ट्रि विमानस्थल निर्माणका क्रममा २२ अर्बको शुरुको लागत थियो । पछि लागत बढेर मुआब्जा बाहेक ३२ अर्ब पुगेको छ ।
अख्तियारले चिनियाँ पक्षलाई पनि बयानका लागि बोलाएको थियो । तर, चिनियाँ पक्षले महानिर्देशक अधिकारीको थाप्लोमा सबै जिम्मेवारी थुपारेर बयान दिन अस्वीकार गरेको छ ।
यस्ता विवादित र बद्नाम महानिर्देशकलाई मन्त्री पाण्डेले बोकेर नियम र कानून विपरित ११औँ तहबाट १२औँ तहमा बढुवा गर्न लागेका छन् । शुक्रबार बोर्डको बैठक बस्न लागेको छ । मन्त्री पाण्डे बोर्डको अध्यक्ष छन् । सदस्यमा पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयका सहसचिवहरू तथा महानिर्देशक अधिकारी सदस्य सचिव रहने व्यवस्था छ ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया