कांग्रेस भएकै कारण माओवादीले ढ्याङ्ग गोली हानेर हाम्रो परिवार सिध्याए

अञ्जनी कोइराला
हाम्रो मध्यम वर्गीय परिवारमा पर्छ । मेरो बुबा रामेछापको गौरीशंकर उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्नुभएको हो । विद्यालय त्यस क्षेत्रमा नाम चलेकोमा पर्छ । बुबा २०३२ सालमा नेपाल विद्यार्थी संघको प्रमुख नेतामध्ये एक हुनुहुन्थ्यो । उहाँमा सानै बेलादेखि प्रजातन्त्रप्रति गहिरो निष्ठा थियो । त्यस समय बुबाले अध्ययन गर्ने विद्यालयको प्रध्यानाध्यापक चाहिं कम्युनिष्ट नेता गोरेबहादुर खपांगी थिए ।

हाम्रो बुबालाई त्यतिबेला प्रध्यानाध्यापक गोरेबहादुर खपांगीले एसएलसीको नतिजा आइसकेपछि फेला भएको मार्कसिट थमाएर पठाए । किनकि उनले नेविसंघंका नेता कार्यकर्तालाई देखिसहदैन थिए । पछि गौरीशंकरले आफ्नो स्मारिका प्रकाशित गर्दा उहाँ पास भएको नतिजा आयो । त्यो रिजल्ट कहिले थाहा भयो भने २०५८ सालमा । ३२ सालको घटना ०५८ सालमा थाहा भयो । यो घटनाले उहाँलाई अत्यन्त विक्षिप्त बनायो । उहाँ पढाईमा अब्बल हुनुहुन्थ्यो । क्लासको प्रथम व्यक्ति जसलाई एसएलसीमा फेल भएको रिजल्ट थमाईदिए । त्यसपछि उहाँले आफ्नो पढाई त्यहिँ छोडीदिनु भयो ।

त्यतिखेर २०३२ सालमा नेविसंघको अध्यक्ष हुँदै गर्दा उहाँहरूले खपाङ्गीको ज्यादतिविरुद्ध आन्दोलन चाहिं गर्नुभएको रहेछ । त्यसबेला प्रध्यानाध्यापक खपाङ्गीले केहि समय स्कुलबाट रेष्टिकेट पनि गरेका रहेछन् । दवाबका कारण खपाङ्गीले त्यो निर्णय फिर्ता लिन बाध्य भए । खपाङ्गीले बुबालाई अर्को के दुःख दिउ भन्दा एसएलसीको नतिजामा त्यसरी धाधली गरेछन् । सबैको प्रिण्टेट सर्टिफिकेट छ । तर, मेरो बुबालाई हातले लेखेको सर्टिफिकेट बनाएर दिए । यसले उहाँमा पढाईप्रति फ्रस्टेसन आयो । त्यसभन्दा माथि उहाँले पढ्नु भएन । त्यसपछि घर गृहस्ती र व्यवहारले पनि छोप्यो, घरको जेठो छोरा पनि । २०३२ सालमा बिहे गर्नु भयो उर्मिला कोइरालासँग ।

पञ्चायत कालमा पनि उहाँ भूमिगत भएर प्रजातन्त्रका लागि भूमिका खेल्नु भयो । प्रथम पटक गिरिजाप्रसाद कोइराला सिन्धुली भ्रमणमा जाँदा जिल्ला कार्यसमिति बन्न सकेको थिएन । पहिलो पटक जिल्ला कार्यसमिति बनाउन आह्वान गर्दा सबैभन्दा पहिले म सदस्य बन्छु भनेर आँट गर्ने मेरो बुवा हुनुहुन्थ्यो । उहाँमा उच्च प्रजातान्त्रिक चेत थियो । प्रजातन्त्रका लागि संघर्ष गरेकै व्यक्ति हो । त्यति बेला गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले निक्कै प्रशंसा गर्नुभयो ।

२०६० सालतिर कथित जनयद्धको नाममा चरम द्वन्द्वको समय थियो । त्यस समय कांग्रेसका गाउँस्तरका नेताहरू पनि गाउँमा बस्न डराउथे । त्यसमाथि सिन्धुली अलि आक्रान्त भएको ठाउँ नै हो । साथै प्रशासनको ठाउँभन्दा अलि बाहिर हाम्रो घर भएको कारण त्यस क्षेत्रमा गाउँस्तरका नेता, कार्यकर्ताहरू पनि बस्न डराउथे । मेरो बुबा त्यस समय महासमिति सदस्य हुनुहुन्थ्यो । २०४८ सालको निर्वाचनमा पनि टिकटका लागि प्रवल दावेदार नै हुनुहुन्थ्यो ।

त्यसबेला माओवादी कै केहि मान्छेहरू फरक विचार भएपनि केहि सिक्न पाइन्छ भनेर हाम्रो बुबाकहाँ कुरा गर्न आउथे । एउटा बौद्धिक व्यक्तिका रुपमा उहाँलाई चित्रण गर्थे । त्यसबेला माओवादीको नीति चाहिं कोहि पनि कांग्रेस–एमालेका नेताहरू गाउँमा नबसुन भन्ने थियो । उहाँ एकजना व्यक्तिलाई सफाय गर्न पायौँ भने एकछत्र राज हुन्छ भन्ने उदेश्य माओवादीमा रहेछ ।

त्यसबेला एकजना माओवादी सेनासँगको मुठभेडमा मारिएको थियो । जो व्यक्तिलाई प्रहरीले पहिले घरैबाट पक्राउ गरेर ४ महिना हिरासतमा राख्दा मेरै बुबाले आफै जमानी बसेर मुक्त गराउनु भएको थियो । पछि ती व्यक्ति माओवादीमा लागेर भूमिगत भएका रहेछन् । दशैंमा घर आएका बेला सेनासँगको मुठभेडमा रामेछापतिर गोली लागेर मृत्यु भएको थियो । माओवादीलाई के निहूँ पाउँ भैरहेको थियो । यहि घटनाको सुराकी गरेको आरोप लगाइदिए । जबकि पहिले त्यहि व्यक्तिलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राख्दा मेरै बुबाले छुटाउनु भएको थियो । त्यो गुण पनि माओवादीले विर्सिए । पारिवारिक रुपले पनि ती मरिएका व्यक्ति हाम्रो परिवारसँग अत्यन्त नजिकका थिए । हाम्रो बुबाले सुराकी गर्ने भन्ने कुरै थिएन ।

मेरो बुबालाई माओवादीले घरबाट लैजादा ३ जना व्यक्ति आएका थिए । त्यसबेला म पनि घरमै थिएँ । जसले हाम्रो बुबालाई घरबाट लिएर गएका थिए । उनीहरू हाम्रो घरमा आउनेजाने, खानेबस्ने गर्थे । घरमा चाहे माओवादी आओस्, चाहे कांग्रेस कसैलाई रोकावट थिएन । घरमा आउजाउ हुन्थ्यो । तीमध्ये अहिले एकजना गाउँपालिका वडाध्यक्ष भएका छन् । एकजना व्यक्ति एमालेमा प्रवेश गरेका छन् । अर्को एकजना चाहिं सेनाको कारबाहीमा मारिएका छन् ।

दाईसँग केहि गोप्य गफ गर्नु छ भनेर गोठ पछि लिएर गए । पहिले पनि आइरहने केटाहरू के त्यस्तो गोप्य होला र भनेर जानुभयो । ५–१० मिनेटसम्म नआइसकेपछि हामीले शंका गर्‍यौं । यिनीहरूले कतै लिएर गएकी भनेर हेर्‍यौं । त्यतिबेला हरेक दिन रेडियोमा समाचारहरू सुन्दा अपहरण गरेको, हत्या गरेको घटनाहरू भइरहन्थे । वास्तवमा यिनीहरू राजनीतिक प्राणी त थिएनन् ।

हामी त्यहाँ १०–१२ जना थियौं । म त्यतिबेला १७ वर्षको थिएँ । बुबाको उमेर ४६ वर्षको थियो । हाम्रो परिवारमा २ दाजुभाई र १ जना दिदी हुनुहुन्छ । जेठो दाजु, दिदी र म । घटना हुँदा दाजु ब्याचलर लेवलमा पढनुहुन्थ्यो । म र दिदी ईन्टर लेवलमा पढिरहेका थियौं ।

उनीहरूले सिधा बाटोबाट नहिँडाएर अर्को बाटो लगेछन् । पछि हामीले थाहा पायौं यो कुरा । मान्छे हिँडिरहने बाटोबाट लागेको भए हामीले भेट्थ्यौं । सबैले खोजी गरेका थियौं । नभेटेपछि सबै गाउँलेलाई खबर गर्‍यौं । ५०–६० जना जम्मा भएर खोज्यौं । उनीहरूले अन्तै टाढा पुर्‍याइसकेका थिए । उनीहरूले त्यस दिन राति एउटा घरमा लगेर राखेका रहेछन् ।

उनीहरूले २६ गते हाम्रो घरबाट अपहरण गरी लगेर २७ गते हत्या गरेछन् । भोलिपल्ट दिउँसोको समयमा निर्घात कुटपिट गरि अन्त्यमा गोलीहानी हत्या गरेछन् । शव कता फ्यालिदिए वा गाडीदिए हामीले थाहै पाएनौं । ५ वर्षपछि कुशको शव बनाएर पशुपतिमा अन्तिम संस्कार गरियो ।

घरबाट अपहरण गरेर लगेपछि हामीलाई गुमराहमै राखे । कहिले कता राखेको छ भन्थे । कहिले कुन श्रमशिविरमा राखेको छ भन्थे । कहिले कता हिडाईराखेको छ भन्थे । यसरी हामीलाई अलमल्याई रहन्थे । उनीहरूले लागेकै भोलिपल्ट हत्या गरिसकेका रहेछन् । हामीले धेरै खोजी गर्‍यौं । उनीहरूले अपहरण र हत्या गरेको १२/१३ दिनपछि केहि व्यक्तिको हत्या गरेको भने । फेरि ती माओवादी कार्यकर्ताहरूले हत्या गरेको हैन तपाईहरूलाई आतंकित पार्न मात्र यसो भनेको हो उहाँलाई हामीले श्रमशिविरमा राखेका छौँ भनेर भ्रामक कुरा सुनाए । यसले हामीलाई अलमल गरायो ।

अन्तर्राष्ट्रिय रेडक्रस संस्थाले धेरै खोजी गर्‍यो । ईन्सेक, मानवअधिकार संगठन सबैले खोजी गर्दा माओवादीहरूले जवाफ फर्काएनन् ।

माओवादी शान्ति प्रक्रियामा आयो । उनीहरूको पार्टी कार्यालाय बुद्धनगरमा थियो । माओवादीको त्यो कार्यालयमा ४ घण्टा कुरेर हामीले प्रचण्डको स्वकीय सचिवलाई निवेदन दिएका थियौं । पत्रको बोधार्थ सीपी गजुरेललाई पनि दियौं । २०६४ सालको निर्वाचनभन्दा एक महिना अगाडि । त्यसको जवाफ उनीहरूले हामीलाई सिधैं नदिएर २०६५ सालमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई जानकारी गराए । हाम्रा साथीहरूले २६ गते लगेर २७ गते हत्या गरिसकेको रहेछन् भनेर । माओवादी हेड क्वाटरबाट सिन्धुली जिल्ला प्रशान कार्यालयलाई जानकारी गरेछन् । प्रशासनबाट हामीलाई खबर आयो । यसरी आधिकारिक जानकारी पाएपछि हामीले बुबाको काजकिरिया ग¥यौं ।

माओवादीले यसो नगरौं भन्दाभन्दै बुबालाई कुटेर हत्या गरियो भन्ने थाहा पायौं । बुबाले मैले सुराकी गरेको होइन, म यो आरोप स्वीकार्न तयार हैन बरु ज्यान दिन तयार छु भन्नु भयो रे । उनीहरूले कुट्दा कुट्दै उहाँ बेहोस हुनुभयो । त्यसपछि गोली ठोकेर मारिदिए, भन्ने कुरा आयो । त्यसरी हत्या गरिसकेपछि बुबाको शव महाभारतको जंगलमा फालिदिए रे । केहि समय कसैलाई त्यस जंगलमा जान पनि दिइएन । शव कुहिएर गयो होला ।

सीपी गजुरेलले हाम्रो आमालाई पढाएका थिए । सीपी गजुरेल हेडमास्टर हुँदा मेरो आमा ९ कक्षामा पढ्नुहुन्थ्यो । सिन्धुलीको कमला हाइस्कुलमा । बिहेभन्दा पहिला सीपी गजुरेलले हाम्रो आमालाई पढाएको हुनाले उनलाई अलि बढी भेटेर कुरा ग¥यौं । त्यसकारण पनि पछि बाध्य भएर सीपी गजुरेलले २०६४ को निर्वाचन ताका हाम्रो साथीहरूले केही गल्ती गरिसकेका छन् । म माफी माग्छु भनेर सार्वजनिक मञ्चबाट भनेछन् । हाम्रो गाउँभन्दा पल्लो गाउँमा भाषण गर्दा । उनले हत्या भन्ने शब्द प्रयोग नगरी गल्ती भन्ने शब्द प्रयोग गरे । म त्यसमा क्षमाप्राथी छु, यो नहुनु पर्थ्याे भयो भनेर भनेका थिए । उनलाई भोट पनि माग्नु थियो । मान्छेहरू अत्यन्त रुष्ट थिए ।

हाम्रो बुबाले कसैलाई बिझाउनु भएको थिएन । सबैले मानसम्मान गरेको व्यक्ति भएकै कारणले पनि त्यहाँका मानिसले अलि बढि माया गर्थे । अर्को कुरा हाम्रो हजुरबुवा ज्योतिष भनेर कहलिनु भएको थियो ।

बुवालाई घरबाट लिएर गएपछि हामीले कांग्रेस पार्टीलाई जानकारी चाहिं गरायौं । काग्रेसको सिन्धुली जिल्ला पार्टी कार्यालय र केन्द्रीय पार्टी कार्यालयलाई खबर गर्‍यौं । केन्द्रीय कार्यालयबाट त्यतिबेला विज्ञप्ति जारी भयो । रेडियो टेलिभिजन सबैतिर समाचार आयो । ५/७ जना कांग्रेसका नेताहरूले हाम्रो साथीलाई माओवादीले अपहरण गरी लग्यो, सकुशल फिर्ता होस् भनेर अनुरोध गरे ।

बुवालाई अपहरण भएपछि हामी प्रहरी कार्यालय जान पनि सकेनौ । गाउँबाट बिस्थापित भएर काठमाडौं आएर बस्न बाध्य भयौं । छरछिमेक र नातागोताले हाम्रो जग्गाजमीनमा जे जस्तो खेती गरेर उब्जनी पठाउथे, त्यो खाएर बस्यौं । ऋण गरेर गुजारा गर्‍यौं ।

पछि माधव नेपालको सरकार गठन भएपछि माओवादीद्वारा हत्या गरिएका केहि व्यक्तिहरूलाई शहीद घोषणा गरियो । हाम्रो बुबाको नाम पनि पर्‍यो । त्यसपछि शान्ति तथा पुनः निर्माण मन्त्रालयबाट विभिन्न चरण गरेर १० लाख रुपियाँ राज्यबाट सहयोग भयो ।

हामी तीन जना छोरा छोरीलाई राम्रैसँग पढाउने लक्ष्य बुबाले राख्नुभएको थियो । हामीले पढ्दै पनि गएका थियौं । दाजुले कमर्स पढ्नु भयो । दिदीले आट्र्स पढ्नु भयो । मैले साइन्स पढे । बुवाको लक्ष्य चाहिं कान्छो छोरालाई इञ्जिनिएर बनाउँछु, जेठो बैंकको जागिरे बन्छ भन्ने थियो । छोरीको मास्टर बन्ने रहर छ । म बनाउँछु भन्ने थियो । त्यस घटनाले पढाईमा नराम्रोसँग अबरोध ग¥यो । मलाई पढ्न गाह्रो भयो । किनकि हरेक दिन पीडाले भतभत पोलिरहन्थ्यो । हाम्रो घरको मौरीको रानो नै हराएको जस्तो भयो । बुबालाई अपहरण गरेपछि हामी २०६४ सालसम्म घर नै फर्कन सकेनौं । माओवादीका कारण हाम्रो परिवार मात्रै टुटेन सपना पनि टुट्यो ।

(माओवादीद्वारा हत्या गरिएका शहीद वशिष्ठ कोइरालाका छोरा अञ्जनी कोइरालासँग गरिएको कुराकानीमा आधारित)

Published : Thursday, 2025 February 13, 11:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया