तरुण दलको पूर्ण सदस्यता वितरण फागुन १ देखि, केन्द्रीय सदस्यहरूसँग समन्वय गर्न निर्देशन

काठमाडौं । नेपाल तरुण दलले पूर्ण क्रियाशील सदस्यता वितरण गरेर सदस्यताहरू संकलन गरि केन्द्रमा पठाउनुपर्ने निर्णय गरेको छ ।

बुधबार वीपीनगर, ललितपुरस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति, जिल्ला अध्यक्षहरू र नेपाल तरुण दल ५औँ महाधिवेशन निर्देशन समितिको संयुक्त बैठकले तरुण दलको पूर्ण सदस्यता वितरण फागुन १ गतेदेखि गर्ने निर्णय गरेको हो ।

अध्यक्ष विद्वान गुरुङले केन्द्रीय कार्यसमितिले गरेको निर्णयबारे जानकारी दिँदै भने, ‘नेपाल तरुण दलको पूर्ण सदस्यता २०८१ साल फागुन १ गतेबाट वितरण शुरु गर्ने भएको छ । पूर्ण सदस्यता वितरण कार्य जिल्ला कार्यसमितिमार्फत गर्ने निर्णय गरेका छौँ ।’

उनले भने, ‘जिल्लाका वडा तहका दलको पूर्ण सदस्यता जिल्लाका सबै वडामा वितरण गरि सबै सदस्यता संकलन गरि पूर्ण सदस्यता स्वीकृतिका लागि केन्द्रीय कार्यसमितिमा २०८१ फागुन ३० गतेसम्म जिल्ला कार्यसमितिको निर्णयसहित पठाउनु पर्ने निर्णय गरिएको छ ।’

‘२०८१ चैत २ र ३ गते केन्द्रीय कार्यसमिति बैठक राखी वडादेखि जिल्ला कार्यसमिति जिल्ला अधिवेशनको कार्यतालिका गर्ने निर्णय गरिएको छ’, अध्यक्ष गुरुङले भने ।

तरुण दलका जिल्ला कार्यसमितिहरूले निर्णय गर्दा केन्द्रीय सदस्यहरूसँग समन्वय गरेर निर्णय गर्नुपर्ने अध्यक्ष गुरुङले बताएका छन् ।

बैठकमा तरुण दलका अध्यक्ष गुरुङका साथै नेपाली कांग्रेसकी सह–महामन्त्री समेत रहेकी निर्देशन समितिकी संयोजक महालक्ष्मी उपाध्याय ‘डीना’, कांग्रेस केन्द्रीय सदस्यद्वय सरिता प्रसाइँ र जीतजंग बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2025 February 12, 8:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया