कांग्रेसले जितेका स्थानीय तहले मुस्लिम समुदायलाई मृत्यु संस्कारका लागि जमीन दिनुपर्छ : खाण

बुटवल । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले मुस्लिम समुदायका लागि मृत्यु संस्कारका लागि आवश्यक पर्ने जमीनको व्यवस्था गर्न स्थानीय तहहरूसँग आग्रह गरेका छन् ।

बुधबार बुटवलमा नेपाल मुस्लिम संघ, लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै पूर्वगृहमन्त्री समेत रहेका नेता खाणले कम्तिमा पनि कांग्रेसले जितेका स्थानीय तहरूले मुस्लिम समुदायलाई मृत्यु संस्कारका लागि कब्रिस्तान बनाउन जमीन दिनुपर्ने बताए । खाणले रुपन्देहीको सिद्धार्थ नगरपालिका र तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षभित्र मुस्लिम समुदायलाई अन्तिम दाहासंस्कारका लागि जमीन उपलब्ध गराउने बताए ।

उनले भने, कम्तिमा पनि देशभरि कांग्रेसले जितेका पालिकाहरू छन् ती पालिकाहरूले विभिन्न धार्मिक समूहहरूको मृत्यु संस्कारहरूलाई सरलतापूर्वक सम्पन्न गर्नको लागि आवश्यक प्रबन्ध गर्न जग्गा दिने व्यवस्था गरोस् ।’

‘सिद्धार्थ नगरपालिका र तिलोत्तमा नगरपालिकाभित्र आउने आर्थिक वर्षमा मुस्लिमहरूका लागि दाहसंस्कार गर्न आवश्यक जग्गा प्रदान गरिनेछ’, कांग्रेस नेता खाणले भने ।

‘आवश्यक बजेटको व्यवस्था गरिनेछ । त्यो स्थललाई पवित्र तीर्थस्थल बनाइनेछ’, उनले भने, ‘दफनाइएका आफन्तहरूलाई बेलाबेलामा गएर फूल चढाउन सकियोस् । एउटा धार्मिकस्थल जस्तो बनोस् । पर्यटकस्थल बनोस् । देशभरि नै गर्नुपर्छ ।’

कार्यक्रममा महामन्त्री गगन थापा, केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, अब्दुल सतार, नैनसिंह महर, लुम्बिनी प्रदेशका कांग्रेस सांसद अब्दुल रज्जाक, पूर्वमन्त्री सुरेन्द्र आचार्य, लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुन लगायतको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2025 February 12, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया