चामेको जंगलको डडेलो १२ दिनसम्म नियन्त्रण हुन सकने : कांग्रेस सांसद गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले मनाङ जिल्लाको चामे गाउँपालिकाको वडा नं. १ मा लागेको डडेलो नियन्त्रण हुन नसकेकोमा चिन्ता जनाएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै सांसद गुरुङले चामेको जंगलमा लागेको डडेलो नियन्त्रणका लागि पहल हुँदा समेत १२ दिनदेखि अग्नि नियन्त्रण गर्न नसकिएको बताए । उनले जलवायु परिवर्तनको समस्या हिमाली जिल्ला मनाङमा पनि देखिएको बताएका छन् ।

उनले भने, ‘मनाङ जिल्लाको चामे गाउँपालिका वडा नं. १ किमाङको जंगलमा डडेलो लागेको १२औँ दिन भइसक्दा पनि अग्नि नियन्त्रण हुन सकेको छैन । सयौं हेक्टर बन जंगल पशुपंक्षी, बहुमूल्य जडीबुडी जलेर नष्ट भइरहेको छ ।’

‘जिल्लास्थित सबै सुरक्षा अंगहरू र सर्वसाधारणले डडेलो नियन्त्रणको लागि सक्रिय भएर लागे पनि भौगोलिक बिकटता र प्राकृतिक कारणले गर्दा डडेलो नियन्त्रण गर्न समस्या भएको छ’, सांसद गुरुङले भने ।

उनले भने, ‘२०७७ साल मंसिरमा पनि मनाङको नासोङ गाउँपालिकाको जंगलमा दुई महिनासम्म डडेलो लागेको थियो । जसका कारण दुई हजार १ सय हेक्टर बनका साथै जंगली पशुपंक्षी, बहमूल्य जडीबुटी समेत जलेर नष्ट भएको थियो ।’

‘जलवायु परिवर्तनको कारण हिमाली क्षेत्र प्रभावित बन्दै गइरहेको अवस्थामा यसै हिमाली जिल्ला मनाङको बनमा डडेलो लाग्नु, समयमा नियन्त्रण गर्न नसक्नु अझै चुनौती थपिदै गइरहेको छ’, सांसद गुरुङले भने ।

‘मनाङको अधिकांश बन अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने गर्दछ’, उनले भने, ‘बर्षेनि मनाङको बन क्षेत्रमा हुने डडेलो नियन्त्रण र रोकथामको लागि अन्नपूर्ण संरक्षण क्षेत्र जिम्मेवार भएको पाइँदैन । अन्नपूर्ण संरक्षण क्षेत्रलाई जिम्मेवार बन्नलाई ध्यानाकर्षण गर्दछु ।’

Published : Tuesday, 2025 February 11, 4:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया