मन्त्री, सचिव, महानिर्देशक र ईञ्जिनियरहरूले गुणस्तरीय सडक निर्माण गर्नुस् : सभापति खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गुणस्तरीय सडक निर्माण गर्न मन्त्री, सचिव, महानिर्देशक र ईञ्जिनियरहरूसँग आग्रह गरेका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै खतिवडाले सामान्य रुपमा वर्षात् हुँदा पनि बग्ने सडक नबनाउन आग्रह गरे ।

उनले भने, ‘अशोजभन्दा पहिला आएको बाढीपहिरोले वीपी राजमार्ग त ध्वस्त भएको छ । आजसम्म मन्त्रीहरू निरीक्षण गर्न जाँदा मन्त्री, सचिव, डीजी, डीईको हुल देख्न पाइन्छ । तर, बाटो निर्माण भएको छैन ।’

सभापति खतिवडाले भने, ‘छिरर… पानी आउनेवित्तिकै बग्ने बाटो निर्माण नगरेर छिटोभन्दा छिटो गुणस्तरीय बाटो निर्माण गर्न अनुरोध गर्दछु ।’

‘पुनर्निर्माण प्राधिकरणले समेत ओखलढुङ्गाका विभिन्न ठाउँमा बाढीपहिलोले भएको क्षति पु¥याएको ठाउँमा काम सुरुवात नगरेको हुँदा छिटो त्यो काम सुरुवात गर्न अनुरोध गर्दछु’, उनले भने ।

सभापति खतिवडाले ओखलढुङ्गा जोड्ने कटारी–घुर्मी सडक खण्डका लागि सरकारसँग बजेटको सुनिश्चितताको माग गरेका छन् । उनले भने, ‘कटारी–घुर्मी सडक ओखलढुङ्गाको अहिलेसम्म रकम सुनिश्चितता नभएर निर्माण हुन सकेको छैन । सरकारको ध्यान जाओस् ।’

Published : Sunday, 2025 February 9, 6:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया