कांग्रेसको नीति भनेकाे देश बनाउने मार्गदर्शन हो : परराष्ट्रमन्त्री डा.राणा

धनगढी । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणाले कांग्रेसको नीति भनेकाे देश बनाउने मार्गदर्शन भएको बताएकी छिन् ।

शुक्रबार नेपाली कांग्रेस कैलालीले धनगढीमा आयोजना गरेको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा परराष्ट्रमन्त्री डा.राणाले सबै नेता कार्यकर्तालाई सकरात्मक सोंचका साथ अगाडि बढ्न आग्रह गरेकी छिन् । उनले राजनीतिबाट मात्रै परिवर्तन ल्याउन सकिने बताएकी छिन् ।

कांग्रेस नेतृ एवम् परराष्ट्रमन्त्री डा.राणाले आ–आफ्नो क्षेत्रबाट कर्तव्य पूरा गर्नुपर्ने बताएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले सामाजिक सञ्जालमा देशको बारेमा नकारात्मक टिप्पणी देखिए पनि अन्तर्राष्ट्रियस्तरमा नेपालबारे सकारात्मक सन्देश दिने काम भइरहेको बताएकी छिन् ।

‘विदेशमा जाँदा नेपाल र नेपालीलाई मिहिनेती, इमान्दार भनेर चिन्ने गर्छन्’, डा.राणाले भनिन्, ‘हामी सधै नकारात्मकमा भन्दा सकारात्मक तिर लाग्नुपर्छ ।’

परराष्ट्रमन्त्री डा.राणाले सुदूरपश्चिममा धेरै विकास निर्माणका काम भएको बताएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले हमास समूहको नियन्त्रमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास भइरहेको बताएकी छिन् । उनले भनिन्, ‘हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सकेसम्मको मिहिनेत भइराखेको छ ।’

‘सबै क्षेत्रबाट सरकारले पहल गरेको छ’, उनले भनिन्, ‘हाम्रो चाहना विपिन सकुशल फर्केर आउन् भन्ने हो ।’

सम्मेलनमा केन्द्रीय सदस्य योगेन्द्र चौधरी, कैलाली कांग्रेसका सभापति समेत रहेका सांसद नारायणदत्त भट्ट, रामजनम चौधरी, जीवन राना, सुशीला भट्ट, सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री प्रकाश देउवा, लगायतको उपस्थिति रहेको थियो ।

Published : Friday, 2025 February 7, 8:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया