परराष्ट्रमन्त्री डा.राणा र इरानका विदेशमन्त्रीबीच कुराकानी, विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग टेलिफोनवार्ता गरेकी छिन् ।

बिहीबार राति डा.राणा र इरानका विदेशमन्त्री अराघ्चीबीच विपिन जोशीको रिहाइका विषयमा कुराकानी भएको हो । डा.राणाले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इरानसँग आग्रह गरेकी छिन् ।

इरानका विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरूसँग अब हुने बैठकमा आफूले विपिन जोशी रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।

विपिन जोशीलाई मुक्त गर्न परराष्ट्रमन्त्री डा.राणाले निरन्तर कूटनीतिक पहललाई जारी राखेकी छिन् । उनले विभिन्न दलका परराष्ट्रमन्त्रीहरूसँग सम्वाद गर्दै आएकी छिन् ।

इजरायलका लागि नेपाली राजदूत प्रा.डा.धनप्रसाद पण्डितले पनि केही दिनअघि इजरायलका राष्ट्रपतिसँग फोनमा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

Published : Friday, 2025 February 7, 12:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया