कांग्रेसविरुद्ध प्रचण्ड बरबराएर बोलेपछि प्रवक्ता डा.महतले सम्झाइदिए हैसियत

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् प्रवक्ता डा.प्रकाशशरण महतले वर्तमान सरकारले जनताको अपेक्षा पूरा गर्न सक्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा डा.महतले ठूला दल मिलेर बनेको सरकारप्रति जनताको धेरै आशा रहेको बताए । पूर्वअर्थमन्त्री समेत रहेका उनले जनताको आशा पूरा गर्न खरो रूपमा उत्रनुपर्ने बताए ।

डा.महतले अध्यक्ष पुष्पकमल दाहालले आफूभन्दा बाहिर प्रधानमन्त्रीको पद नजाने भ्रम पाल्दा कांग्रेस र एमाले मिल्नुपरेको बताए । उनले कांग्रेस र एमाले कुनैसँग पनि सहकार्य गर्दा आफू नै प्रधानमन्त्री भइने मानसिकतामा अध्यक्ष दाहाल रहेकोमा त्यसलाई अहिले चिरिएको बताए । उनले त्यो परिस्थिति समाप्त भएपछिको अवस्थाबाट अभिप्रेरित भएर दाहालले आफ्ना भनाइ राखेको बताए ।

डा.महतले अध्यक्ष दाहालले मन्त्रिपरिषदबाटै पारित भएको कार्यविधि लत्याएर तीन करोडभन्दा तल कुनै पनि संघीय आयोजना नराख्ने मन्त्रिपरिषदको निर्णय उल्ट्याएको आरोप लगाए । उनले वर्तमान सरकारले सोही बजेटमाथि काम गरेर अघि बढ्नुपर्ने अवस्था भएकाले आर्थिक अवस्था दुरुस्त गर्न समस्या आइरहेको बताए ।

उनले राजनैतिक परिवर्तनको सम्पूर्ण श्रेय अध्यक्ष दाहालले लिएको र अध्यक्ष दाहालले एक दलीय व्यवस्था चाहेको बताए । एक दलीय व्यवस्था स्थापित गर्ने मनसायले अध्यक्ष दाहालले युद्ध लडेको उनको टिप्पणी थियो ।

डा.महतले पार्टीभन्दा माथि उठेर सरकारले काम गर्न सक्नुपर्ने बताए । एकदलीय व्यवस्था स्थापित गर्न माओवादीले युद्ध लडेको भन्दै डा.महतले सबैको पहलका कारण माओवादी बहुदलीय व्यवस्थामा आएको बताए । उनले लगानी बढाउनका लागि नै सरकारले अध्यादेश ल्याएकाले सबै एकमत हुनुपर्ने बताएका छन् ।

Published : Thursday, 2025 February 6, 10:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया