सभापति देउवा र अध्यक्ष यादवबीच भेट, सहयोग गर्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

बिहीबार बुढानिलकण्ठस्थित सभापति देउवासँग अध्यक्ष यादवले भेट गरेका हुन् । भेटका क्रममा अध्यादेशहरू अनुमोदनका विषयमा कुराकानी भएको बुझिएको छ । देउवा र यादवसँगको भेटमा जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादवको पनि उपस्थिति रहेको थियो ।

सभापति देउवाले अध्यक्ष यादवसँग अध्यादेश अनुमोदनमा सरकारलाई सहयोग गर्न आग्रह गरेको जसपा नेपालका उपाध्यक्ष यादवले बताएका छन् ।

उपाध्यक्ष यादवले भनेका छन्, ‘हामीले अध्यादेश अध्ययन प्रतिवेदन पार्टी अध्यक्षलाई बुझाएका छौँ । निष्कर्षमा पुग्ने भन्ने आजको कार्यसूची थियो । संसदको कार्यसूचीबाटै अध्यादेश पेश गर्ने कार्यसूची हटाइयो ।’

‘त्यो भइसकेपछि अझै गहिरो अध्ययन गरेर अर्को बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने भनेर आज छलफल भएको हो’, उपाध्यक्ष यादवले भने, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतले हिजो राति नै फोन गरेर एकचोटि भेट्ने भनेर बोलाइसकेपछि हाम्रो पार्टी अध्यक्ष र म स्वयं भेटेका हौँ ।’

‘उहाँले अध्यादेशमा सहयोग गर्नुस् भन्ने कुरा राख्नुभयो । हाम्रो तर्फबाट कार्यदलले अध्ययन गर्दै छ’, उपाध्यक्ष यादवले भने, ‘त्यसपछि दलको बैठक बसेर पार्टीले आधिकारिक निर्णय लिन्छ, त्यही निर्णयका आधारमा हामी अगाडि बढ्छौँ भन्ने कुरा राख्यौँ ।’

Published : Thursday, 2025 February 6, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया