परराष्ट्रमन्त्री डा.राणाद्वारा कैलाली कांग्रेसको सम्मेलन उद्घाटन गर्ने, तरुणद्वारा स्वागतको तयारी

धनगढी । परराष्ट्रमन्त्री डा.आरजु राणाले नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्ने भएकी छिन् ।

माघ २५ गते हुन लागेको सम्मेलनको कांग्रेस नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.राणाले उद्घाटन र सम्बोधन गर्नेछिन् । सम्मेलनका लागि कैलाली कांग्रेसले वडादेखि प्रचारप्रसार तिव्र बनाएको छ । कांग्रेसको १४औं महाअधिवेशनपछिको कैलाली कांग्रेसले दोस्रो जिल्ला सम्मेलन गर्न लागेको छ ।

कैलालीमा केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले परराष्ट्रमन्त्री डा.आरजु राणा कैलालीमा आउने भएपछि पार्टीका साथीहरूले तयारी गरिरहेको बताए । उनले कैलाली कांग्रेसको सम्मेलनका लागि स्थानीय नेताहरूले निकै महत्वका साथ काम गरिरहेको बताए ।

सम्मेलनका लागि सम्पूर्ण तयारी पूरा भएको कांग्रेस कैलालीका प्रचारप्रसार प्रमुख तपेन्द्र भुषालले बताएका छन् । सम्मेलनमा प्रतिनिधि र नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहनेछ । सम्मेलन धनगढीस्थित कैलाली उद्योग वाणिज्य संघको सभाहलमा हुनेछ ।

कैलाली कांग्रेसको सम्मेलनमा सहभागी हुन् परराष्ट्रमन्त्री डा.राणा धनगढी विमानस्थलमा उत्रिने कार्यक्रम छ । डा.राणाको स्वागतका लागि नेपाल तरुण दलका नेता तथा कार्यकर्ताहरूले ठूलो तयारी गरेको तरुण दलका केन्द्रीय सदस्य अविनाश चौधरीले बताएका छन् । उनले भने, ‘परराष्ट्रमन्त्री डा.आरजु राणाज्यूको स्वागतका लागि कैलालीका तरुणहरू तयारी अवस्थामा छन् ।’

Published : Wednesday, 2025 February 5, 12:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया