कांग्रेस-एमालेको विचार मिल्दैन, मुलुकमा अफ्ठ्यारो पर्दा निकास दिन एकठाउँमा हुन्छन् : विद्वान गुरुङ

पर्वत । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले मुलुकमा संकट पर्दा नेपाली कांग्रेस र एमाले मिलेर निकास दिने गरेको बताएका छन् ।
मंगलबार नेपाली कांग्रेस पर्वत क्षेत्र नं. २ ले पैंयू गाउँपालिकाको हुवास, हातेमालो चोकमा आयोजना गरेको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले मुलुकमा संकट परेपछि कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताए । उनले विगतको इतिहाँस हेर्ने हो भने कांग्रेस र एमाले मिलेर निकास दिएको प्रशस्त उदाहरण रहेको बताए ।
अध्यक्ष गुरुङले भने, ‘अहिले कांग्रेस र एमालेको सरकार बनेको छ । मुलुकमा संकट छ । जबजब मुलुकमा संकट हुन्छ, यो मुलुकको स्थापित दुइटा पार्टी, जसले यो व्यवस्थाको पक्षमा लडेको, लोकतान्त्रिक पक्षमा लडेको र नेपाली जनताको पक्षमा लडेको नेपाली कांग्रेस र एमाले पार्टी जबजब मुलुकमा संकट परेको हुन्छ यी दुइटा पार्टी मिलेको छ ।’
‘चाहे ०४६ सालको आन्दोलन होस् । ०४७ सालको संविधान होस् । ०६२/६३ सालको आन्दोलन होस् । ०७० सालमा बनेको संविधान होस्’, उनले भने, ‘मुलुकमा अहिलेको संकटलाई निकास दिनको लागि कांग्रेस र एमालेको जुन सरकार बनेको छ ।’

उनले भने, ‘हाम्रा विभिन्न विचार र सैद्धान्तिक कुराहरू यी दुई पार्टीसँग मिल्दैन । तर, जनता र मुलुकमा अफ्ठ्यारो पर्दा निकास दिन एकठाउँमा हुन्छन् ।’
तरुण दलका अध्यक्ष गुरुङले भने, ‘जनताको दुःख र सुखमा नेपाली कांग्रेस छ । कांग्रेसले मात्रै जनताको दुःखमा साथ दिन सक्छ । जनताका धेरै समस्याहरू छन् ।’
‘कांग्रेससँग धेरै आक्रोशित पनि हुनुहुन्छ । रिसाउनु पनि भएको छ । जसले कांग्रेससँग भरोसा गरेको हुन्छ, त्यो नै यो पार्टीसँग रिसाएको छ, नेतासँग रिसाएको छ’, अध्यक्ष गुरुङले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगीमा धरौटीमा छुटे पनि अदालतमा पेश भएको मिसिलका पानापानामा तथ्यहरू रहेको बताए । उनले रास्वपाको केन्द्रीय समितिमा आधाभन्दा धेरै नेताहरू ठग र काण्डैकाण्ड लागेकाहरू रहेको बताए ।

अध्यक्ष गुरुङले भने, ‘केही विद्वानहरूले भन्नु हुन्छ । सरकारले रास्वपाका सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधेकै हो ? रवि लामिछानेलाई अन्याय भएकै हो ? विभिन्न विज्ञहरूको सामाजिक सञ्जालमा धेरै कुराहरू सुनिरहेका छौँ ।’
‘नेपालमा ठूलो आर्थिक संकट छ । युवाहरू विदेशिनु परेको छ । यसको एउटै मात्रै कारण हो हाम्रा किसान, मजुरहरूले जम्मा गरेका हामीले वर्षौंदेखि सपना देखेको त्यो सहकारी हुन्’, उनले भने ।
‘आमा, दिदी, बहिनीले बचत जम्मा गरेको सहकारीमा आज यिनै विभिन्न ठगहरू, हिजोका ठगहरू, बिभिन्न बुङ्गा बनेर आउँथे’, गुरुङले भने, ‘विदेशबाट आफूलाई सुटबुटमा ल्याएर आएका, पार्टी र विचारमा आएका नयाँ पार्टीहरू जसले संघर्ष गरेका पार्टीहरूलाई अपमान गर्ने गरिएको छ ।’

अध्यक्ष गुरुङले भने, ‘रवि लामिछाने सहकारी ठगीमा धरौटीमा छुटे पनि हरेक पानापानामा ठगीको धब्बा लागेको छ । यस्ता ठगहरूलाई कारबाही हुन्छ । विभिन्न जिल्लामा, विभिन्न पार्टी परित्याग गर्दागर्दा नेताहरू र पार्टीलाई हराउनेहरू, सहकारीहरू लुट्नेहरूको पार्टी हो रास्वपा ।’
उनले भने, ‘रास्वपाको इतिहाँस हेर्नुभयो भने त्यो पार्टीको केन्द्रीय समितिमा आधाभन्दा धेरै यो मुलुकका ठगैठग छन् । यी अन्तर्राष्ट्रिय ठगहरूबाट सचेत हुनुपर्छ ।’
कार्यक्रममा कांग्रेसका महामन्त्री गगनकुमार थापा, कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, गोविन्द शाह, तरुण दलकी केन्द्रीय सदस्य मुना भुसाल, क्षेत्रीय सभापति प्रवीण गुरुङ, प्रतिनिधि सभाकी सांसद कुशुम थापा, कांग्रेस गण्डकी प्रदेशकी सदस्यद्वय रामकृष्ण मल्ल र रेखा पुन लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया