हामी मुख्य प्रतिस्पर्धी हौँ, केपी ओलीलाई अविश्वास गर्नुपर्ने कुरा छैन : सभापति देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई अविश्वास नगर्न नेता तथा कार्यकर्ताहरूसँग आग्रह गरेका छन् ।

मंगलबार पोखरामा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित सभापति र प्रशिक्षण शाखा प्रमुखको लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको उद्घाटनलाई सम्बोधन गर्दै देउवाले कांग्रेस–एमाले प्रजातन्त्र र लोकतन्त्रका लागि लडेको पार्टी भएको बताए । उनले अहिलेको सरकारको आयु लामो भएको पनि बताएका छन् ।

‘केपी ओलीजी हामी जेलमा पनि सँगै बसेको साथी हो । त्यतिबेला धेरै ठूलो दुःख कष्ट थियो’, पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउाले भने, ‘जेल परेपछि छुट्ने सम्भावना हुँदैनथ्यो । उहाँ धेरै लामो समय जेल बस्नुभो ।’

सभापति देउवाले भने, ‘झापा काण्डको कारण देखाएर जेलभित्रको पनि जेलमा राखियो । हामी मुख्य प्रतिस्पर्धी हौँ । तर, केपी ओलीलाई अविश्वास गर्नुपर्ने कुरा छैन ।’

उनले एकढिक्का भएमा कांग्रेस एक्लैले बहुमत ल्याउन सक्ने बताए । ‘नेपालको संविधानले पनि कुनै एउटा पार्टीले मात्रै बहुमत ल्याउन गाह्रो छ’, उनले भने, ‘त्यसकारण कुनै न कुनै पार्टीसँग मिल्नपर्नेछ ।’

उनले भने, ‘नेपालको विकास अझै पनि भन्ने हो भने जुन गतिमा हुनुपर्ने हो भाको छैन । त्यसैले हाम्रो देशको भूगोल डाँडाकाडा पहाड पर्वत हिमालदेखि लिएर समथर भूमिको देश हो यो ।’

‘यस मानेमा अत्यन्त सुन्दर देश पनि हो नेपाल। हामीले आर्थिक रुपमा समुन्नत पार्न सक्यौँ भने राम्रो हुन्छ’, सभापति देउवाले भनेका छन् ।

देउवाले पार्टीका सबै तहका नेता तथा कार्यकतालाई एकताबद्ध भएर संगठनलाई सुदृढ बनाउन निर्देशन पनि दिएका छन् । पार्टी एकताबद्ध भएमा बहुमत हासिल गर्न सहज हुने उनले बताए । उनले राजनीतिक अस्थिरतालाई दृष्टिगत गर्दै कांग्रेस र एमालेबीच सहकार्य भएको बताएका छन् ।

प्रतिष्ठानका प्रमुख एवं उपसभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रदेखि तल्लो तहसम्म प्रशिक्षणका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने बताएका छन् ।

नेता तथा कार्यकर्तामा निराशा नभई आशाको सञ्चार गर्दै एउटा सशक्त पार्टीका रूपमा स्थापित गर्नुपर्ने उपसभापति खड्काले बताएका छन् ।

कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कांग्रेसलाई उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन् । वीपी चिन्तनलाई समयसापेक्ष बुझ्न र यसको व्यावहारिक प्रयोग आवश्यक रहेको उनले बताए ।

बुधबार समापन हुने कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूले प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा पार्टीका जिल्ला सभापति, उपसभापति, प्रदेश सभापतिसहित करिब दुई सय जना सहभागी छन् ।

Published : Tuesday, 2025 February 4, 7:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया