देवेन्द्र दाई जय नेपाल भन्न अहिले बिर्सिनु भएछ, नबिर्सिन होला : सभापति रामहरि खतिवडा

ढोरपाटन । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले विकास निर्माणको काममा सत्ता पक्ष र प्रतिपक्ष भन्न नहुने बताएका छन् ।

सोमबार बागलुङको ढोरपाटन नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले विषय र एजेण्डामा राजनीति गरे पनि विकास निर्माणमा राजनीति गर्न नहुने बताए । उनले नेकपा (माओवादी केन्द्र)लाई विगतमा कांग्रेससँग भएको गठबन्धनलाई नभुल्न सुझाव दिए ।

सभापति खतिवडाले भने, ‘हामीले कहिले काहिँ सत्ता पक्ष र प्रतिपक्षको राजनीतिको कुरा गर्दर्छौं । तर, नेपालको राजनीतिमा हामी एउटा संस्कारको विकास गर्न सकौं ।’

‘सत्ता पक्ष र प्रतिपक्ष कुनै विषयमा हुन सकिन्छ । देश विकास निर्माण गर्ने कुरामा गाउँ निर्माण गर्ने कुरामा ठाउँ निर्माण गर्ने कुरामा विकास निर्माणका कार्यक्रममा हामी एकमत भएर गयौं भने उपलब्धि हुनेछ’, उनले भने, ‘विकास गर्ने कुरामा झगडा गर्नु हुँदैन ।’

माओवादीका नेता देवेन्द्र पौडेलले कांग्रेसप्रति लक्षित गरेर टिप्पणी गरेपछि सभापति खतिवडाले जवाफ दिएका छन् ।

खतिवडाले भने, ‘देवेन्द्र पौडेल दाईले केही कुरा बोलेर जानुभयो । हिजो हामी चुनावी प्रतिस्पर्धा गर्दा माओवादीसँग मिलेर गठन्धन गरेका थियौँ । जय नेपाल उहाँले त्यति बेला भन्नु भयो अहिले बिर्सिनु भएछ । म नबिर्सिन अनुरोध गर्न चाहन्छु । हाम्रो गठबन्धन निरन्तर छ, विकास निर्माणका काममा ।’

सभापति खतिवडाले ढोरपाटन नगरपालिकाको विकासमा उपप्रधान र शहरी विकासमन्त्री प्रकाशमान सिंह र प्रधानमन्त्री केपी ओलीसँग निकै घनिष्ट सम्बन्ध रहेका एमालेका सांसद देवीप्रकाश भट्टचनले चाहने हो भने बजेटको अभाव नहुने बताए ।

‘उपप्रधान एवम् स्थानीय विकासमन्त्री प्रकाशमान सिंह र एमालेका समानुपातिक सांसद देवीप्रकाश भट्टचनले चाहने हो भने विकास हुन्छ । मलाई लाग्छ नाम पनि देवी, काम पनि देवीकै गर्ने देवीप्रकाश भट्टचन र प्रकाशमान सिंहले ढोरपाटनमा राम्रो काम गरेर देखाउनु हुनेछ’, सभापति खवितडाले भने ।

प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, नेपाली कांग्रेस बागलुङका सभापति एवम् गण्डकी प्रदेश सभाका सांसद जीतबहादुर शेरचन, माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल, एमालेका सांसद देवीप्रकाश भट्टचन, नेपाली कांग्रेसकी गण्डकी प्रदेशसभाकी सांसद दिलमाया पौवी, ढोरपाटन नगरपालिकाका कार्यबाहक नगरप्रमुख कल्याण कायत, ढोरपाटन नगरपालिका वडा नं. १ का वडाध्यक्ष वानबहादुर छन्त्याल लगायतको उपस्थिति रहेको थियो ।

Published : Monday, 2025 February 3, 10:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया