पाथीभरामा केबलकार निर्माण गर्ने विवाद द्वन्द्वमा परिणत भयाे, समुदायको सहमति अनिवार्य छ : शंकर भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले पाथीभरा क्षेत्रमा अवस्थित साक्षात् देवी पाथीभरामा केबलकार निर्माण गर्ने सम्बन्धमा उत्पन्न विवाद द्वन्द्वमा परिणत भएको भन्दै चिन्ता जनाएका छन् ।

साेमबार पूर्वमन्त्री समेत रहेका नेता भण्डारीले पवित्र पाथीभरा क्षेत्रको धार्मिक, पौराणिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व रहेको बताएका छन् । उनले भने, `यसको प्राकृतिक सुन्दरता तथा भौगोलिक विशिष्टता आफैमा अद्वितीय छ, मनमोहक छ ।´

`केबलकारको निर्माणबाट पाथीभरा माताको दर्शनमा सहजता आउने र तिर्थयात्रु तथा पर्यटक आगमनमा वृद्धि भई यस क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने भन्ने एकथरीको दाबी रहेको छ भने कतिपय स्थानीयले केबलकार निर्माणबाट यस क्षेत्रको प्राकृतिक सुन्दरता, भौगोलिक विशिष्टता, ऐतिहासिकता र सांस्कृतिक पक्षमा अपूरणीय क्षति भई यस क्षेत्रको मौलिकता समाप्त हुने तर्क गर्दै आएका छन्´, नेता भण्डारीले भने ।

`हाम्रा धार्मिक र सांस्कृतिक धरोहरहरुको संरक्षण र संवर्धन गर्दै त्यसको मौलिकतामा कुनै आँच आउन नदिई त्यसबाट उचित लाभ लिनु हाम्रो आवश्यकता हो´, उनले भने, यसका लागि स्थानीय समुदायसँगको सहमति, समन्वय तथा सहकार्य अपरिहार्य हुन्छ ।´

उनले भने, `यसै तथ्यलाई आत्मसात गर्दै सम्बद्ध पक्षसँग सार्थक वार्ता गरी तत्काल द्वन्द्वकाे अन्त्य गरी आपसी छलफल र सहमतिबाट निष्कर्षमा पुग्न नेपाल सरकारसँग माग गर्दछु ।´

Published : Monday, 2025 February 3, 11:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया