बागमतीलाई खेलकुदको हब बनाउँछौँ, खेलाडीहरूको अभिलेख राख्छौँ : खेलकुदमन्त्री महर्जन

काठमाडौं । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बागमती प्रदेशलाई खेलकुदको हब बनाउनुपर्ने बताएका छन् ।

शनिबार मकवानपुरको इन्द्रसरवर गाउँपालिका वडा नम्बर २ द्वारा आयोजित वडा कप प्रतियोगिताको विजेता टिमलाई पुरस्कार प्रदान गर्दै मन्त्री महर्जनले बागमती प्रदेशलाई खेलकुदमय बनाउन आफूले सक्ने काम गरिरहेको बताए । उनले बागमती प्रदेश खेलकुदको हब बनाउँदा खेलाडी र राज्यको आर्थिक अवस्थामा सुधार आउने बताए ।

मुलुकमा संघीयता लागू भएपछि स्थानीय सरकार र प्रदेश सरकार अधिकार सम्पन्न भएपछि बागमती प्रदेशभित्रका जिल्लाहरूमा सबैभन्दा धेरै खेलकुद प्रतियोगिता र गतिविधि भइरहेको मन्त्री महर्जनले बताएका छन् ।

बागमती प्रदेश खेलकुद हब भएको र बागमती प्रदेशभित्र भौतिक पूर्वाधार निकै कम रहेको भन्दै उनले अब आउने बजेटमा खेलकुदको क्षेत्रमा भौतिक पूर्वाधारलाई प्राथमिकता राखेर काम गर्ने बताएका छन् ।

युवा तथा खेलकुदमन्त्री महर्जनले खेलाडीहरूको जीविकोपार्जको निमित्त प्रतिबद्ध भएर आफूले काम गरिरहेको पनि बताएका छन् ।

बागमती प्रदेशभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको अभिलेख राखेर सम्मान गर्दै जाने मन्त्री महर्जनले बताएका छन् ।

प्रतियोगितामा महिला भलिबल, पुरुष भलिबल, भेट्रान्स फुटबल महिला डोरी तान्ने खेल र फुलकन्ट्याक्ट कराते सम्पन्न भएको छ ।

प्रमुख अतिथि समेत रहेका युवा तथा खेलकुदमन्त्री महर्जनले विजेता खेलाडीहरूलाई पुरस्कार प्रदान गरेका छन् ।

महर्जनले महिला भलिबल प्रथम हुने मार्खु टिमलाई नगद ४० हजारसहित मेडल ट्रफी प्रदान गरेका छन् । पुरुष प्रथम हुने नवलालिमाटिमलाई ४० हजारसहित मेडल ट्रफी उनले हस्तान्तरण गरेका छन् ।

भेट्रान फुटबलमा प्रथम हुने नवलालिमा युवा क्लबलाई ४० हजार नगद पुरुस्कारसहित मेडल ट्रफी प्रदान गरिएको छ ।

Published : Saturday, 2025 February 1, 10:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया