समायानुकुल सहकारीमैत्री ऐन, नियमहरूको आवश्यकता महशुस गरेर नयाँ अध्यादेश ल्याइएको छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक नेपालको संविधानको प्रस्तावनामा नै अर्थतन्त्रका तीन आधार सरकारी, निजी र सहकारी रहेको हुनाले सहकारी क्षेत्रको औचित्य र महत्व अझ भएको बताएका छन् ।

शनिबार वीपीनगर ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा सहकारी विभागले आयाेजना गरेकाे अन्तरक्रियामा सभापति देउवाले कांग्रेस सहकारीको मर्म र भावनाअनुसार गरिब किसान, श्रमिक र समाजका विभिन्न वर्गको जीवनस्तर उकास्न सहकारी आन्दोलनलाई आम नागरिक समक्ष पुगाउन अभियानको रुपमा विस्तार गर्न लागेको बताए ।

देउवाले सरकारले समायानुकुल सहकारीमैत्री ऐन, नियमहरूको व्यवस्था गर्नुपर्ने आवश्यकता महशुस गरेर नयाँ अध्यादेश ल्याएको बताएका छन् । उनले सहकारीकै कारण गरिबी निवारण र सशक्तीकरण हुने भन्दै यसको लागि आवश्यक अध्यादेश ल्याएको बताए ।

उनले भने, ‘सहकारीकै कारण गरिबी निवारण, सशक्तीकरण, लोकतान्त्रिक समाजवादको स्थापना हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर यसका लागि सरकारले समयानुकुल सहकारीमैत्री ऐन, नियमहरुको व्यवस्था गर्नुपर्ने आवश्यकतालाई महशुस गरेर नयाँ अध्यादेश ल्याएको छ । सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक परिवर्तन हुने कुरामा मेरो पूर्ण विश्वास छ ।’

सभापति देउवाले कांग्रेसकाे सहकारी विभागले सातै प्रदेशमा सहकारी समस्या, चुनौती र समस्या समाधानका लागि विभिन्न काम गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सहकारी विभागका प्रमुख देवेन्द्रराज कडेंलले सहकारी क्षेत्रमा विश्वसनीयता जोगाउन सबैले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । उनले सहकारीमा ठूलाे संख्यामा बचतकर्ताहरू पीडित बनेकाे भन्दै बचतकर्ताकाे बारेमा ध्यान दिनुपर्ने बताए ।

Published : Saturday, 2025 February 1, 8:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया