सहकारी ठगका अभियुक्तलाई सांसदमा छिर्न दिइएन, फुकुवा गर्न माग

काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद पद फुकुवाकाे माग गरेर सभामुख देवराज घिमिरेलाई निवेदन बुझाएका छन् ।

शुक्रबार संसद सचिवालयमा सभामुख घिमिरेसंग भेट गरेर लामिछानेले निलम्बनकाे फुकुवा माग गरेका हुन् । लामिछानेले सम्पत्ति शुद्धीकरण ऐनको दफा २७ अनुसार आफ्नो सांसद पद निलम्बन गर्ने निर्णय सच्याउन माग गरेका छन् ।

रास्वपाका सभापति लामिछानेको मागपछि सभामुख घिमिरेले छलफल र परामर्श गरेर उपयुक्त निर्णय लिने जवाफ दिएका छन् । लामिछाने सहकारी ठगी काण्डमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा खेप्दै आएका छन् ।

नियमावलीअनुसार फौजदारी अभियोगमा पुर्पक्षका लागि थुनामा पठाए मात्रै निलम्बन हुने व्यवस्था रहेको भन्दै लामिछानेले निवेदनमा तीनवटा अदालतबाट आफू रिहा भइसकेकाले नियमावलीबमोजिम संसद्को कामकारबाहीमा उपस्थित हुन पाउने गरी निलम्बन फुकुवा गर्न माग गरेका हुन् ।

आफू थुनामा नरहेको अवस्थामा सम्पत्ति शुद्धीकरण ऐनको दफा २७ ले आफूलाई सदनको कार्यसञ्चालन गर्न बाधा–अवरोध नगर्ने भएकाले प्रतिनिधिसभाको नियमावलीको नियम २४८ (५) बमोजिम निलम्बन फुकुवाको जानकारी दिई संसद्को बैठकमा सहभागी हुने वातावरण बनाउन लामिछानेले माग गरेका छन् ।

Published : Saturday, 2025 February 1, 9:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया