सरकारसँग मुठभेडमा जाने माओवादीसहितका दलहरूको संकेत, अध्यादेशलाई असहयोग गर्ने

काठमाडौं । माओवादी केन्द्रसहितका विपक्षमा रहेका दलहरूले सरकारले ल्याएको अध्यादेशहरूको विरोध गर्दै विपक्षमा मतदान गर्ने निर्णय गरेका छन् ।

बिहीबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले सरकारले सदनमा अनुमोदनका लागि पेश गर्ने अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

पाण्डेले सरकारले सदनलाई छलेर अध्यादेश ल्याएको बताए । उनले सदन चल्नै लाग्दा सरकारले अध्यादेश ल्याउन संविधान विपरित रहेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठक शुक्रबारबाट शुरु हुन लागेको छ । संसदको बैठक शुरु हुनुभन्दा एक दिन अगाडि बसेको प्रतिपक्ष दलहरूको बैठकले सरकारलाई असहयोग गर्ने निर्णय गरेका छन् । विपक्षी दलहरूको मोर्चा बनाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसँग सदन र सडकबाट मुठभेडको अवस्था सिर्जना गर्न खोजेका छन् ।

माओवादीसहितका विपक्षी दलहरूले सरकारविरुद्ध सदन र सडकमा घेराबन्दीको रणनीति बनाएका छन् । सदन अवरोध गरेर सरकारलाई निकै तनाब दिने पक्षमा विपक्षी दलहरू देखिएका छन् ।

विपक्षी दलहरूको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, नेताहरू वेदुराम भुसाल, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, स्वर्णिम वाग्ले, सन्तोष परियार लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

Published : Thursday, 2025 January 30, 12:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया