कांग्रेसद्वारा विज्ञसहित अध्यादेशका बारेमा छलफल

काठमाडौं । नेपाली कांग्रेसले अध्यादेशका विषयमा विज्ञहरूको राय–सुझाव लिएको छ ।

आइतबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा अध्यादेशहरूका विषयमा छलफल भएको प्रमुख सचेतक श्याम घिमिरेले बताए । उनले भने, ‘तीनजना विज्ञलाई सहभागी गराएर अध्यादेशको कन्टेन्टका विषयमा छलफल गरेका छौँ ।’

‘उहाँहरूले अध्यादेशका विभिन्न पक्षबारे प्रकाश पार्नुभएको छ’, घिमिरेले भने, ‘अध्यादेशमा केही त्रुटि छन् कि, केही कन्टेन्ट सच्याउनुपर्छ कि भनेर उहाँहरूलाई सहभागी गराएर राय सुझाव लिइएको छ ।’

गृहमन्त्री रमेश लेखकले सरकारको काम कारबाही र अध्यादेशका विषयमा जानकारी गराएका थिए । उनले देशको समग्र विकासलाई चलायमान बनाउन र सुशासनलाई बलियो बनाउन सरकारले अध्यादेश ल्याएको बताएका छन् ।

कांग्रेस–एमालेबीच बनेका विभिन्न संयन्त्रका विषयमा पनि बैठकमा छलफल भएको छ ।

Published : Sunday, 2025 January 26, 11:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया