सरकार ढल्छ भन्ने अफबाहको पछाडि नलाग्न कांग्रेस–एमाले लुम्बिनी प्रदेशको आग्रह

मसुरिया । नेपाली कांग्रेस र नेकपा (एमाले)को दुई दलीय जिल्ला संयन्त्रहरूको लुम्बिनी प्रदेशस्तरीय संयुक्त बैठकले दुई पार्टीबीच भएको विश्वासको सहमतिबाट बनेको वर्तमान समीकरणको सरकारका विषयमा आइरहेका अफबाहको पछाडि नलाग्न आग्रह गरेको छ ।

आइतबार कपिलवस्तुको शिवपुरस्थित होटल विराटमा बसेको लुम्बिनी प्रदेशस्तरीय संयुक्त संयन्त्रको बैठकले सरकारविरुद्ध भइरहेका हल्लाको विश्वास नगर्न आग्रह गरेको हो । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले दुई पार्टीका शीर्ष नेतृत्वले गरेको सहमतिलाई अक्षरंश पालना गरेर अगाडि बढ्ने बताए । उनले भने, ‘प्रधानमन्त्री समेत रहनुभएका एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच राजनीतिक स्थायित्व, मुलुकको समृद्धि र संविधान संशोधनका लागि आपसी विश्वासमा बनेको नयाँ समीकरण हो । यो विश्वासलाई बलियो बनाउन लुम्बिनी प्रदेश सरकारले सबै सहयोग गर्ने निर्णय भएको छ ।’

संविधानमा रहेका कमीकमजोरीलाई संशोधन गरेर जनताको अधिकारलाई थप गर्ने विषयमा दुई दलका शीर्ष नेतृत्वबीच भएको सहमतिलाई संयन्त्रले साथ दिने सहमति भएको मन्त्री राणाले बताए ।

उनले भने, ‘संविधान सच्याउन कांग्रेस र एमालेका शीर्ष नेताहरू एकठाउँमा उभिएका हुन् । विचार, आस्था सिद्धान्त मिल्दैन । तर, देशको समृद्धिका लागि एकठाउँमा उभिएका छन् । राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमालेको समीकरण बनेको हो ।’

मन्त्री राणाका अनुसार ७ बुँदे सहमतिलाई पूरा गर्नको लागि संयन्त्रलाई इमान्दारितापूर्वक क्रियाशील बनाइ निर्णयहरू पालना हुनेछ ।

संयन्त्रणले सरकार ढल्छ भनेर विपक्षीहरूले चलाएको बजारहल्लाको पछाडि नजान अनुरोध गरिएको मन्त्री राणाले बताए । उनले भने, ‘सरकार ढल्ने भन्ने कुराको अर्थ छैन । कांग्रेस–एमालेको समीकरण र सरकार ०८४ सम्मै जान्छ । हल्लाको पछाडि लाग्नु हुँदैन ।’

बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् एमालेका नेता चेतनारायण आचार्य, नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2025 January 26, 10:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया