सहकारी ठगका अभियुक्त रवि लामिछाने १ करोड धरौटी बुझाएर छुटे

भैरहवा । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न रुपन्देही जिल्ला अदालतले आदेश दिएको छ ।

आइतबार भएको थुनछेक बहसपछि न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश दिएको हो । रुपन्देही जिल्ला अदालतका तहसिलदार कुमार खतिवडाका अनुसार लामिछानेले १ करोड रुपियाँ बैंक धरौटी बुझाएका छन् । उनले भने, ‘प्रतिवादी रवि लामिछानेले १ करोड रूपियाँ बैंक ग्यारेन्टी बुझाएर छुटेका छन् ।’

सहकारीपीडित पक्षका अधिवक्ताहरूले लामिछानेलाई पुर्पक्षका लागि जेल चलानको माग गरे पनि न्यायाधीश योगीले धरौटीमा छाड्न आदेश दिएका छन् ।

बुटवलको सुप्रिम सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपियाँ हिनामिना गरेको अभियोग लामिछानेलाई लागेको छ । लामिछानेसहित २८ जनाविरुद्ध अदालतमा ठगीको मुद्दा दायर भएको छ ।

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपियाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपियाँ लामिछानेको नाममा ऋण गएको भेटिएको बताएको थियो ।

यसअघि रास्वपाका सभापति लामिछाने पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्कीमा ६५ लाख धरौटीमा छुटेका हुन् । त्यसपछि काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी काण्डमा ६० लाख धरौटीमा छुटेका थिए ।

Published : Sunday, 2025 January 26, 9:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया