कांग्रेसद्वारा नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन आयोजना गर्ने, दुई दिनसम्म के के हुनेछ ?

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागकी संयोजक उर्मिला थपलियाले नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ उर्जा भर्ने तथा मुलुकको आर्थिक रुपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन आयोजना गर्न लागेको बताएकी छिन् ।

शनिबार कांग्रेस केन्द्रीय कार्यालय वीपीनगर, ललितपुरमा पत्रकार सम्मेलन गरेर संयोजक थपलियाले माघ १६ र १७ गते ललितपुरमा सम्मेलन गर्न लागेको बताइन् । सम्मेलनको सभापति शेरबहादुर देउवाले गर्ने उनको भनाइ छ ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य, सांसद, स्थानीय तथा प्रदेश सरकारका नेतृत्व, उद्योग र उद्यमशीलता क्षेत्रमा क्रियाशील विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ ।

सम्मेलनमा ८० भन्दा बढी स्टार्टअप र एसएमईहरूको प्रदर्शनी नवप्रवर्तन र सेवाहरूको अवलोकन गर्दै सहभागीहरूले नयाँ व्यवसायिक सम्भावनाहरू पत्ता लगाउनेछन् ।

६ हजारभन्दा बढी युवा उद्यमीहरू, नीति निर्माता, उद्योगपति, लगानीकर्ता, तथा प्राविधिकहरू तथा विज्ञहरूको सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाउने संयोजक थपलियाले बताएकी छिन् ।

विषयगत सत्रमा हुने छलफल, नवप्रवर्तन र उद्यमशीलता, कृषि उद्यमशीलता, सूचना प्रविधि विकास, महिला उद्यमशीलता र प्रेरणादायी उद्यमशीलता यात्राबारे विशेष छलफल हुनेछ ।

नवप्रवर्तन र उद्यमशीलता मार्फत आर्थिक रुपान्तरणका साथै स्टार्टअप र एसएमईहरूमा लगानीका अवसर र चुनौतीहरूबारे छलफल हुनेछ ।

डिजिटल अर्थतन्त्र र आईटी क्षेत्रको विकासका संभावनाबारे विमर्शका साथै महिला र युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने वातावरणबारे छलफल हुने संयोजक थपलियाले बताइन् ।

नेपाली कांग्रेसलाई युवामैत्री र उद्यमशीलतामा अग्रसर बनाउनेछ । सम्मेलनले नेपालको स्टार्टअप र एसएमईहरूको प्रवर्द्धन र उद्यमशीलताको वातावरण निर्माणका लागि विशेष भूमिका खेल्ने, कार्यक्रममा हुने छलफल र सुझावहरूले व्यवसायिक नीति सुधार र लगानीको वातावरण बनाउन ठोस मार्गनिर्देशन गर्नेछ ।

Published : Saturday, 2025 January 25, 10:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया