खेलाडीहरूको जीविकोपार्जनमा सरकारले ध्यान दिनुपर्छ : खेलकुदमन्त्री महर्जन

भरतपुर । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले विश्वभरि राष्ट्रको प्रतिष्ठित बढाउने खेलाडीहरूको जीविकोपार्जनमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

शनिबार चितवनको भरतपुर प्रहरी तालिम केन्द्रमा भएको द राईजिङ फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री महर्जनले खेलाडीहरूको सामाजिक सुरक्षाका लागि सरकारले ध्यान दिनुपर्ने भन्दै त्यसका लागि आफूले सम्बन्धित निकायमा कुरा उठाउने बताए ।

उनले भने, ‘अहिले खेलाडीहरू गेम खेल्ने, गेम खेलेर आफ्नो राम्रो प्रोफाईल बनाउने, पासपोर्टमा राम्रो देशको भिषा लगाउने, उतै पलायन हुने, किनकि त्यो खेलाडीहरूको बाध्यता हो ।’

नेपालमा खेल खेलेर आफ्नो परिवार पाल्ने सक्ने अवस्था खेलाडीसँग नरहेको मन्त्री महर्जनले बताए । खेलकुद पृष्ठभूमिका नेपाली कांग्रेसका नेता समेत रहेका खेलकुदमन्त्री महर्जनले राष्ट्रका गहना खेलाडीका लागि सबै मिलेर निस्वार्थ भावनाले काम गर्नुपर्ने बताए ।

खेलाडीहरूले नै राष्ट्रको झण्डा अन्तर्राष्ट्रिय जगतमा फरफराउने गरेको उनले बताए । ‘हरेक युवाहरू कुनैन कुनै खेलसंग आबद्ध भएकै हुन्छ’, मन्त्री महर्जनले भने, ‘त्यसैले सरकारले अबको बजेटमा खेलकुद क्षेत्रलाई पहिलो प्राथमिकता राख्नुपर्छ । होइन भने अबको १० वर्षमा युवाहरू बाटोमा देख्न सक्ने परिस्थिति हुँदैन ।’

युवा तथा खेलकुदमन्त्री महर्जनले आफू बागमती प्रदेशको खेलकुद मन्त्री भए लगत्तै खेलाडीहरूको उज्ज्वल भविश्यका लागि अहोरात्र काममा लागिरहेको बताएका छन् ।

बागमती प्रदेश खेलकुद परिषद विकास परिषदले खेलाडी उत्पादनको निमित्त प्रशिक्षको नियुक्तिको प्रक्रिया अगाडि बढाइसकेको मन्त्री महर्जनले बताएका छन् ।

गोल्डकप फुटबल प्रतियोगितामा प्रथम हुने टीमलाई रू १० लाख नगद पुरुस्कार र फष्ट रनरअपलाई रू ५ लाख नगद पुरुस्कार प्रदान गरिनेछ ।

Published : Saturday, 2025 January 25, 10:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया