रविप्रति लक्षित गर्दै सभापति खतिवडाले भने– फाइल खोल्छु भन्ने कै सत्ता बाहिर जाँदा फाइल खुल्यो

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले फाइल खोल्ने धम्की दिनेहरूकै फाइल खुलेको भन्दै मुलुकको उन्नति र समृद्धिका लागि मिलेर जानुपर्ने बताए ।

शनिबार भक्तपुरको ठिमीमा टारकेराबारी सेवा समाजले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता समेत रहेका सभापति खतिवडाले कांग्रेस र एमालेको समीकरणको सरकारमा सहभागी हुन माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेका छन् ।

उनले भने, ‘हिजो हामी माओवादीसँग गठबन्धन गरेर चुनाव जितेका हौँ । म माओवादीलाई पनि गाली गर्न चाहँदैन । माओवादीका नेताले अलिक हतार हतार खुट्टा चाल्नुभयो भन्छु, गाली गर्न चाहन्न ।’

‘एमालेसँग हाम्रो त्यतिबेला गठबन्धन थिएन । देशको परिस्थिति फरक भयो’, सभापति खतिवडाले भनेका छन् ।

सभापति खतिवडाले रास्वपाका सभापति रवि लामिछानेप्रति लक्षित गरेर सत्तामा रहँदा फाइल खोल्छु भनेर धम्की दिनेहरू सत्ताभन्दा बाहिर जानेवित्तिकै उनीहरूको फाइल खुल्दा के हबिगती भयो भनेर प्रश्न गरेका छन् ।

उनले भने, ‘च्याखे पार्टीहरू फाइल खोल्छु, फाइल खोल्छु भनेर मात्रै सत्तामा आउने, सत्तामा बाहिरबाट जानेवित्तिकै फाइल खोलिने अवस्था सिर्जना भयो । अहिले देखी हाल्नुभयो तपाईहरूले ।’

‘कहाँ पुग्यो मुलुक ? दुनियाँका फाइल खोल्छु भनेर तर्साउने र थर्काउने भन्दा बाहेक केही काम भएन । बोल्नेभन्दा काम केही भएन । जनतालाई पनि तर्साउने, सत्तामा बस्दा पनि तर्साउने, बाहिर बस्दा पनि तर्साउने’, सभापति खतिवडाले भने ।

‘यो कार्य अन्त्य गर्नुपर्ने दायित्व ठूला राजनीतिक दलको काम पनि हो । माओवादीका नेताहरूलाई पनि अनुरोध गर्न चाहन्छु’, उनले भने, ‘हिजो माओवादी र कांग्रेस गठबन्धन भयो, एमाले त्यसैमा आउँदा पनि राम्रो हुन्थ्यो ।’

सभापति खतिवडाले भने, ‘हामी एउटै बाटोमा जान सक्ने थियौं । अहिले पनि केही बिग्रिएको छैन । हामी पहिलो पार्टी हौँ । पहिलो पार्टी हुँदा पनि तेस्रो पार्टीलाई सहयोग गरेका छौँ ।’

‘अहिले पनि दोस्रो पार्टीलाई प्रधानमन्त्री बनाएका छौँ । आउनुस् तेस्रो पार्टी र चौथो पार्टी पनि मिलौँ’, उनले भने, ‘मुलुक र समृद्धिका लागि । केवल आफ्नो स्वार्थमा यो काम गर्छु, त्यो काम गर्छु, थर्काउँछु, तर्साउँछु भनेर मुलुक त्यो बाटोमा चल्दैन ।’

उनले भने, ‘हामीले समृद्धिका लागि एउटाले अर्कोलाई गाली गर्ने कार्यले मुलुक बन्छ ? कसले कहाँ के ग¥यो ? हामीलाई थाहा छ । काम गर्ने कुरामा लिएर आऔँ । किन फलानो पार्टीलाई दोष दिने ? हामी सबै मिल्ने हो भने मुलुकका लागि सबै कुरा हुन्छ । हामी हेरौँ ०७० र ०७४ पछाडि अहिलेको इतिहाँस हामी हेर्दै जाऔँ । म तपाईहरूलाई यति अनुरोध गर्न चाहन्छु ।’

Published : Saturday, 2025 January 25, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया