सभापति देउवाद्वारा सिंहदरबारमा कांग्रेसका सांसद र मन्त्रीहरूसँग परामर्श

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले संसदमा एउटै आवाजमा एकढिक्का भएर प्रस्तुत हुन निर्देशन दिएका छन् ।

शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी, सांसद र कांग्रेसका मन्त्रीहरूसहितको छलफलमा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संसदमा एउटै आवाजमा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिएका हुन् । उनले कांग्रेस र एमालेको समीकरणको सरकारलाई विपक्षी दलहरूले दवावमा राख्न विभिन्न खालका प्रयासहरू गर्न सक्ने समेत बताएका छन् ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सभापति देउवाले केही असन्तुष्टि भए पार्टीको बैठकमा राख्न सुझाव दिएको बताए । सरकार वा पार्टीभित्रको असन्तुष्टिलाई लिएर संसद तथा सार्वजनिक ठाउँमा प्रस्तुत नहुन सभापति देउवाले आग्रह गरेका छन् । जे असन्तुष्टि भए पनि पार्टीभित्र राख्न सांसदहरूलाई उनले आग्रह गरेको घिमिरेले बताए ।

मन्त्रीहरूले सरकारका काम, कारबाहीबारे जानकारी गराएका छन् । सरकारको अवस्था, सरकारले गरिरहेका काम, कारबाही, संसदमा प्रस्तुत भएका विधेयकहरू, अध्यादेश र आउने विधेयकहरूका विषयमा छलफल भएको प्रमुख सचेतक घिमिरेले बताएका छन् ।

कांग्रेस एकढिक्का भएर एउटै आवाज र एउटै स्वरका साथ संसदमा प्रस्तुत हुने र बाहिर पनि एकढिक्का भएर प्रस्तुत हुने निर्णय भएको घिमिरेले बताएका छन् ।

कांग्रेसका मन्त्रीहरूले आर्थिक पक्षमा तत्काल केही सुधार गर्नुपर्ने भएको र मुलुकमा आर्थिक गतिविधि चलायमान बनाउन केही विधेयक संशोधन गर्नैपर्ने बाध्यता भएका कारण अध्यादेश ल्याएको बताएका छन् ।

कांग्रेसको संसदीय दलको बैठक भोलि आइतबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्न लागेको छ । संसदीय दलको बैठकको तयारी स्वरुप सभापति देउवाले आन्तरिक तयारी गरेका छन् ।

Published : Saturday, 2025 January 25, 6:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया