खेलकुद अनुशासित र सभ्य ढङ्गले सम्पादित हुने क्षेत्र : मन्त्री राणा

गौमुखी । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले खेल र खेलाडीको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।
शुक्रबार प्यूठानको गौमुखी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री राणाले लुम्बिनी प्रदेश सरकारले महत्वपूर्ण ऐन, नियम, कानूनहरू तयार गरिरहेको बताए । उनले खेल अनुशासित र सभ्य ढंगले सम्पादित हुने क्षेत्र भएको पनि बताएका छन् ।
नेपाली कांग्रेस प्यूठान क्षेत्र नं. २ का क्षेत्रीय सभापति समेत रहेका मन्त्री राणाले प्यूठान र गौमुखी गाउँपालिकाबाट उत्पादित खेलाडीले विश्वमा हरेक इतिहाँस रच्न सक्ने भएकाले खेल क्षेत्रको विकासका लागि तीन तहका सरकार योजनाबद्ध हिसाबले अगाडि बढ्नुपर्ने बताए ।
मन्त्री राणाले गौमुखी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेसँग प्रतियोगिता शुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने नाराका साथ गौमुखी गाउँपालिकाले स्थानीय विद्यालयस्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु गरेको गाउँपालिकाका अध्यक्ष विष्णु गिरीले बताएका छन् ।
गौमुखी गाउँपालिका अध्यक्ष विष्णु गिरीले नगरस्तरीय खेलमा देखिएको उत्साहले तत्कालीन समयमा सञ्चालन हुने वीरेन्द्र शिल्डको झल्को आउने गरेको बताए ।
उनले खेलकुद क्षेत्रको विकास गर्न भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गरिएको पनि बताएका छन् ।
उद्घाटन समारोहमा विद्यार्थीले मार्चपास गरेका छन् । प्रतियोगितामा गौमुखी गाउँपालिकाभित्रका सबै वडाका विद्यालयहरूले भाग लिएका छन् ।
विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्स, भलिबललगायतका १२ विधाका २४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका विजेताहरूलाई सम्मानपत्र, ट्रफी र अन्य पुरस्कार प्रदान गरिने अध्यक्ष गिरीले बताए । प्रतियोगितामा गौमुखी गाउँपालिकाभित्रका ७ विद्यालयका करिब १ सय ५० विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता आगामी तीन दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगितालाई खेलकुदमा स्थानीय प्रतिभाहरूको पहिचान र उनीहरूलाई प्रोत्साहन गर्ने उत्कृष्ट अवसरका रूपमा हेरिएको गिरीले बताए ।
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस प्यूठानका पूर्वसभापति समेत रहेका भूमि समस्या समाधान आयोग, जिल्ला समिति प्यूठानका अध्यक्ष सुवास केसी, प्यूठान नगरपालिकाका नगर उपप्रमुख एवम् कांग्रेस नेता देवेन्द्र बर्मा, झिम्रुक गाउँपालिकाका उपाध्यक्ष एवम् कांग्रेस नेता प्रमोद पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया