तीन तहका सरकारका कार्यालयबीच समन्वय गर्न समितिको भूमिका रहन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन तहका सरकारका कार्यालयहरूबीच समन्वय गर्न जिल्ला समन्वय समितिको भूमिका रहने बताएका छन् ।

शुक्रबार काठमाडौंको चन्द्रागिरीमा जिल्ला समन्वय समिति महासंघको कार्यक्रममा उनले विकासका कार्यमा सुशासनसहित समावेशिता, सहभागिता, पारदर्शिता, क्षेत्रगत एवं पर्यावरणीय सन्तुलनजस्ता उपलब्धि हासिल गर्न समन्वय समितिको ध्यान दिनुपर्ने बताए ।

उनले लोकतान्त्रिक गणतन्त्रले जनतालाई वास्तविक अर्थमा जनार्दन बनाएको बताएका छन् । देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि यसको वस्तुगत समीक्षा र परिमार्जनका लागि छलफल अगाडि बढाउनु पर्ने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले भने, ‘तपाईहरूबाट प्राप्त हुने सकारात्मक सुझावलाई हामी अवश्य ग्रहण गर्नेछौँ ।’

नयाँ संविधान जारी भएसँगै संघ, प्रदेश र स्थानीय तहको दुईपटक चुनाव सम्पन्न भइसकेको उनले बताए । देउवाले दोस्रोपटक तीन तहको निर्वाचन सम्पन्न भएर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएको बताएका छन् ।

‘सबै स्थानीय तहमा जनतालाई दिने सेवा सुविधालाई प्रभावकारी र चुस्त बनाउँदै हामी तीव्र आर्थिक र सामाजिक विकाससहितको समृद्धितर्फ अघि बढिरहेका छौँ’, सभापति देउवाले भने ।

उनले भने, ‘जनतासँग प्रत्यक्ष जोडिएर संघीय गणतन्त्रको सही अभ्यास गर्ने थलो स्थानीय तह हो । हाम्रो संविधानले स्थानीय तहलाई लोकतन्त्रको प्राणका रूपमा व्याख्या गरेको छ ।’

‘यस्तो महत्वपूर्ण निकायको समन्वय र अनुगमन कायम गर्न हरेक जिल्लाका जिल्ला समन्वय समितिहरूको महत्वपूर्ण भूमिका हुन्छ’, उनले भने ।

उनले पालिकाहरूबीचको विवादमा समन्वयकारी भूमिका निर्वाह गरी समस्या समाधान गर्ने दायित्व पनि जिल्ला समन्वय समितिको भएको बताएका छन् ।

उनले भने, ‘कानूनी रूपले समन्वय नै मूल जिम्मेवारी भएका कारण पालिकाहरूबीच मात्र नभई प्रदेश र संघबीच समन्वय गरी प्रभावकारी कार्यसम्पादन गराउने भूमिका तपाईहरूको छ ।’

देउवाले भने, ‘आगामी दिनमा अनुगमन, मूल्याङ्कन र समन्वयलाई प्रभावकारी बनाउँदै संघ, प्रदेश र स्थानीय तहका सेवा प्रवाहलाई चुस्त बनाउन तपाईहरूको थप ध्यान पुग्नेछ भन्ने मैले अपेक्षा गरेको छु ।’

सभापति देउवाले बजेट, पूर्वाधार, कानून तर्जुमालगायत समस्यामा आफू र आफ्नो पार्टीले सहयोगी भूमिका खेल्ने बताए ।

Published : Friday, 2025 January 24, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया