संसदीय समितिमा रास्वपाकी विनिताद्वारा निजी कुरा उठाएर गरिन् बबाल, देखाइन् औकात

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद विनिता कठायतले निजी, अनौपचारिक र खानाखाने बेला भएका सामान्य कुरालाई लिएर संसदीय समितिमा बबाल गरेकी छिन् ।

बुधबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा रास्वपाकी सांसद कठायतले रास्वपाका सभापति रवि लामिछाने, सांसदहरू स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ र सोविता गौतमका विषयमा भएका अनौपचारिक कुराकानीलाई लिएर बबाल गरेकी हुन् । संसदीय समितिको बैठकमा उनीहरूविरुद्ध अभिव्यक्ति दिएको भए सांसद कठायतले कुरा उठाउनु स्वभाविक हुने थियो । तर, पोखरामा खाना खाने बेलामा भएका अनौपचारिक कुराकानीलाई लिएर बबाल गरेकी हुन् ।

जनताका कुरा उठाउनु पर्ने बेला रास्वपाकी सांसद कठायतले आफ्नो औकात देखाएकी छिन् । कठायतले खाना खानेबेलामा नेपाली कांग्रेस र एमालेका सांसदहरूले रक्सी सेवन गरेर रवि लामिछाने, स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ र सोविता गौतमको विवाहका विषयमा कुरा गरेको आरोप लगाइन् । विदेशी नागरिकसँग विवाह गरेको र धेरै पत्नी र धेरै पति बनाएको विषयमा खानाखाने बेलामा किन कुरा उठाएको भनेर रास्वपाकी सांसद कठायतले बबाल गरेकी हुन् ।

सांसद कठायतको अभिव्यक्ति र गतिविधिले संसदीय समितिको अभ्यासलाई नै लज्जित बनाएको छ । बैठकमा सांसदबीच भएका अनौपचारिक कुराकानीका निजी विषयलाई लिएर हङ्गामा भएको छ ।

रास्वपाकी समानुपातिक सांसद कठाउतले चर्को आवाज गरेर जथाभावी बोल्न थालेपछि समितिकी सभापति कुसुमदेवी थापाले प्रतिवाद गर्दै समितिको मर्यादामा बस्न सचेत गराएकी थिइन् ।

पोखरामा पुस २९ गते दिउँसो छलफल सकिएपछि बेलुकाको खाना ल्यान्ड मार्क होटेलमा मिलाइएको थियो । खानाखाने क्रममा भएको कुराकानीलाई लिएर रास्वपाकी सांसद कठायतले बबाल मच्चाएकी हुन् ।

‘स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, सोभिता गौतम, रवि लामिछानेले चार वटा बिहे गरे, रास्वपा ठग पार्टी जस्ता आरोप लगाउनुभयो’, सांसद कठायतले भनिन्, ‘स्वयं सभापतिले रक्सी खाएको बेला । केही प्रतिवाद गर्ने कोसिस त गरेँ तर धेरै बहस गरिनँ ।’

कठाउतले भनिन्, ‘उहाँ (सभापति कुसुमदेवी थापा) को त्यहाँ पनि अलि उग्र व्यवहार देखेपछि म आक्रोशित हुन पुगे । हिजो खण्डन गरियो । आउने दिनमा यस्ता काम नगरुन् भनेर एक हिसाबले सचेत गराएको हुँ ।’

समितिकी सभापति थापाले रास्वपा सांसद कठायतमाथि पोखरामा दुर्व्यवहार नभएको बताएकी छिन् । ‘अनुगमन सकिएपछि पारिवारिक कुरा हुन्छन्, राजनीतिक कुरा हुन्छन्, सरकारका कुरा हुन्छन् । हर कुरा हुन्छन् नि’, सभापति थापाले भनिन्, ‘त्यस्ता कुरा हुँदा व्यक्तिगत दुर्व्यवहार भयो भनेर हुन्छ ?’

खानाखाने बेलामा कांग्रेस महामन्त्री गगन थापाले रास्वपा सभापति रवि लामिछानेविरुद्ध संसदमा प्रमाण पेस गरेको कुरा, रास्वपा सांसद सुमना श्रेष्ठको श्रीमान् विदेशी रहेको, शिक्षामन्त्री हुँदा विदेशी नागरिकसँगै मन्त्री क्वार्टरमा बसेको, सांसद सोभिता गौतमले नेपाल सरकार मुर्दावाद भनेको कुरा भएको सभापति थापाले बताइन् । ‘सांसद जस्तो मान्छेले यस्ता कुरालाई दुर्व्यवहार मान्ने हो त ?,’ सभापति थापाले प्रश्न गरेकी छिन् ।

सभापति थापाले मदिरा सेवन गरेको भन्ने आरोपमा सत्यता नभएको बताएकी छिन् । ‘रक्सी खाएको भनिएको कुरा बिलकुल गलत हो । संसदीय समितिमा मैले भनेको पनि छु । प्रमाण ल्याउनु भनेर । संसदीय मर्यादा भन्ने हुन्छ नि’, सभापति थापाले भनिन् ।

Published : Thursday, 2025 January 23, 8:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया