खेलकुदमन्त्री महर्जनद्वारा विश्वभरि नेपालको नाम चिनाउने पलेशासहितका खेलाडीलाई सम्मान र पुरस्कार प्रदान

सातदोबाटो । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले नेपालले अहिलेसम्मकै ऐतिहासिक सबैभन्दा ठूलो पदक हासिल गरेको पारा खेलाडी रहेको बताएका छन् ।

आइतबार ललितपुरको सातदोबाटोमा आयोजित खेलाडीहरूलाई पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा मन्त्री महर्जनले पलेशा गोबर्धनले फ्रान्सको राजधानी पेरिसमा भएको पारा ओलम्पिक गेममा कास्य पदक हासिल गरेको भन्दै प्रशंसा गरे । पलेशा गोबर्धनले कास्य पदक हासिल गरेर पारा खेलाडीहरूको मानसम्मान, विश्वभरि नेपालको प्रतिष्ठा जोगाएको मन्त्री महर्जनले बताए ।

उनले पारा खेलाडी पलेशा गोबर्धनको निकै प्रशंसा गरेका छन् । आफू खेलकुदमन्त्री भएको केही दिनमै पलेशा गोबर्धनलाई १० लाख नगदसहित बागमती प्रदेशको राजधानी हेटौंडामा र्‍यालीसहित भब्य सम्मान गरेको महर्जनले स्मरण गरेका छन् ।

युवा तथा खेलकुदमन्त्री महर्जनले पारा खेलकुदले नेपालको सान बढाएकोले केन्द्र सरकारले अब पारा खेलकुदलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए ।

कार्यक्रममा खेलकुदमन्त्री महर्जनले पारालिम्पियन पलेशा गोवर्धनका साथै भरतसिंह महता, भीम कुमाल र पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामालाई सम्मान पत्र प्रदान गरेका छन् ।

यसैबीच, युवा तथा खेलकुदमन्त्री महर्जनले नेपालमा पहिलो पटक ह्विलचियर टेनिस खेलको प्रतियागिताका विजेता टिम र खेलाडीहरूलाई पुरस्कार प्रदान गरेका छन् ।

नेपाल ह्विलचियर टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको पुरुषमा प्रथम भएका रामबहादुर तामाङले १५ हजार, दोस्रो भएका सागर पाण्डेले १० हजार र तेस्रो भएका खुम पाण्डेले ५ हजार नगदसहित ट्रफी हात पारेका छन् ।

महिलातर्फ प्रथम अनुकला राईले १५ हजार, दोस्रो भएकी गंगा छन्त्यालले १० हजार र तेस्रो भएकी झरना रानाले ५ हजारसहति ट्रफी पाएका छन् ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य रामचन्द्र श्रेष्ठ, खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष राजु थापा, भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्य, नेपाल टेनिस संघका सचिव मालिका राणा, ह्विलचियर टेनिस संघका अध्यक्ष विकास थापा, राष्ट्रिय पारालिम्पिकका पधाधिकारीहरू उदय लिम्बू, ओमनाथ शिवाकोटी, विश्सवास बस्नेत, सरोज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रशिक्षणमा राखेपका टेनिस प्रशिक्षक सूर्यभूषण बज्राचार्य, मुख्य प्रशिक्षक रेणुदेवी कोण्डा र प्रशिक्षक चन्द्र शाहीले ४ महिला र ५ पुरुष खेलाडीलाई प्रशिक्षण गराएका हुन् ।

Published : Sunday, 2025 January 19, 8:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया