सहकारीवाला नयाँ पार्टी र व्यक्तिले भ्रम फैलाउन खोजे, तरुणहरू सतर्क हुनुपर्छ : अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले बहुदलीय व्यवस्थामाथि जनतालाई निराश बनाउने खालेका कुराहरू केही समूहले सामाजिक सञ्जालमा राख्ने गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल तरुण दल सिन्धुपाल्चोकले आयोजना गरेको वनभोज कार्यक्रममा अध्यक्ष गुरुङले भने, ‘नेपालका बुद्धिजीवी भन्नेहरू । जसलाई हामीले आदर्श मान्छौँ । उहाँहरूको जति पनि भनाइहरूले हेर्छौं, सुन्छौँ । जनतालाई उत्साहित होइन, निराश बनाउने खालका अभिव्यक्तिहरू निरन्तर आइरहेका छन् ।’

उनले भने, ‘दलीय व्यवस्थालाई नेपाल जनतालाई उक्साउँदै घिनाएको मात्रै राजनीति गराएको छ । जसले आज आम नेपालीहरूलाई घृणा सुनाएको छ । निराश बनाउने कोशिषहरू भएको छ ।’

‘यस्ता वनभोज जस्ता कार्यक्रमहरूबाट युवाहरूलाई उत्साहित बनाउने हो । हामीले हार खाने होइन । मुस्कानसहितको खुसी हुनुपर्छ । हामीबीच कुनै मतभेद छभने पनि यस्तै कार्यक्रमहरूबाट आफ्ना कुराहरू अन्त्य गर्नुपर्छ’, अध्यक्ष गुरुङले भने ।

‘देश हामीले बनाउने हो । यो देश अरु कोही आएर बनाउनेवाला छैन । युवाहरू विदेश पलायन हुने कार्यलाई रोक्नुपर्छ’, अध्यक्ष गुरुङले भने, ‘देश छोडेर, भागेर देशको विकास हुँदैन । रोजगारीको शिलशिलामा नेपाल छोडेर विदेशमा गएर कमाउने सपना देखेका हौँला । विदेशमा हेर्ने हो भने पनि समस्या उस्तै छ । विदेशमा युद्ध चलेका छन् । परिवार बचाउन पनि समस्या परेको छ ।’

अध्यक्ष गुरुङले केही व्यक्ति र नयाँ खोलिएका पार्टीहरूले भ्रम फैलाउन खोजिएको भन्दै तरुणहरूलाई सर्तक रहन निर्देशन दिए । उनले भने, ‘भ्रम फैलाउन खोजिएको छ । नयाँ खोलिएका पार्टीहरू आएका छन् । विभिन्न घटना क्रमहरू हुँदै छन् । विभिन्न कमीकमजोरीहरूलाई लुकाइदैछ ।’

‘कुनै पार्टीको सभापति सहकारी ठगी काण्डमा पक्राउ पर्नु हुन्छ । उहाँलाई विभिन्न जिल्लामा लगिएको छ । विभिन्न सहकारीपीडितहरूको पक्षमा वकालत गर्ने अधिवक्ताहरूलाई अपराध गर्न खोजिदैछ’, उनले भने, ‘भिडमा कुनै बिचार छैन । सिद्धान्त छैन । कहिँन कहिँबाट परिचालित छ । सञ्चालित छ ।’

अध्यक्ष गुरुङले युक्रेनमा पनि यस्तै नयाँ दलबाट आउने व्यक्तिहरूका कारण युद्धबाट समाप्त भएको बताए । उनले तरुणहरूलाई नयाँ दल र परिचालित नयाँ नेताहरूप्रति निगरानी गर्न निर्देशन दिएका छन् ।

यसैबीच, नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले काठमाडौंको गोकर्णेश्वरमा वृहत वनभोज कार्यक्रमको आयोजना गरेको छ । वनभोजमा तरुण नेताहरूको उपस्थिति रहेको थियो । त्यस क्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति, खेलहरू पनि भएका थिए ।

Published : Saturday, 2025 January 18, 8:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया