चीनबाट यसअघि ऋण सहयोगमा बनेका परियोजनाहरूको प्रतिफल राम्रो छैन् : कांग्रेस प्रवक्ता डा.महत

वीरगन्ज । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले हालै नेपालले चीनसँग सम्झौता गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा अनुदान सहयोगमा लिनुपर्ने बताएका छन् ।

बिहीबार वीरगन्जमा आयोजित कार्यक्रममा डा.महतले भने, ‘नेपालले वैदेशिक ऋणको भारी थेग्न नसक्ने अवस्थामा पुगिसकेको छ । बीआरआईमार्फत फेरि अर्को ऋण थप्नु देशका लागि घातक हुन्छ । त्यसका कारण बीआरआई अनुदान सहयोगमा लिनुपर्छ, न कि ऋण सहयोगमा ।’

उनले चीन सरकारबाट यसअघि ऋण सहयोगमा बनेका परियोजनाहरूको प्रतिफल राम्रो नदेखिएको बताएका छन् ।

उनले भने, ‘उदाहरणका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नै हेरे पुग्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुरुमा ४ अर्बको परियोजना थियो, पछि बढाउँदै लगेर त्यो २४ अर्बमा पुग्यो । आज त्यसको हरिबिजोग छ ।’

उनले भने, ‘कांग्रेसले बिआरआई सिद्धान्त त हुँदै हुँदैन भनेकै छैन । अहिलेका लागि विशिष्ट परिवेशमा लोन (ऋण) सहयोग लिनु उपयुक्त छैन । त्यसकारण त्यसलाई अनुदान सहयोगमै लिनुपर्छ भनेर कांग्रेसले भनिरहेको छ ।’

Published : Thursday, 2025 January 16, 7:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया