राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्नुस् : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले विश्वमा रहेका सबै नेपाली मिसन प्रमुखहरूलाई नेपालको राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी छिन् ।
बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयबाट भर्चुअल सम्बोधनमार्फत डा.राणाले विदेशमा रहेका सबै नेपाली मिसन प्रमुखहरूलाई राष्ट्रिय स्वार्थमा कार्य सम्पादन गर्न निर्देशन दिएकी हुन् ।
उनले भनेकी छिन्, ‘आर्थिक कूटनीति पनि नेपालको परराष्ट्र नीतिको एक अभिन्न अङ्गका रुपमा हामीले अघि बढाइरहेकाले नेपालको विकासको आकांक्षा र आर्थिक बृद्धिका लागि सहयोग पुर्याउने गरी कुनैपनि क्षेत्रको अन्वेषणमा लाग्नुहोस् ।’
आफू रहेका देश तथा स्थानका सम्भावनालाई नेपालसँग जोडेर त्यसबाट नेपालले कसरी लाभ लिन सक्छ र नेपालको आर्थिक विकासका प्रयासहरूलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्नेबारेमा सोँचेर काम गर्न परराष्ट्रमन्त्री डा.राणाले निर्देशन दिएकी छिन् ।
‘विविध कारणले नेपाली अर्थतन्त्रले अपेक्षित गति लिन नसकिरहेको वर्तमान अवस्थामा विदेशस्थित सबै नेपाली मिसनहरूले आर्थिक कूटनीतिका माध्यमबाट आफू रहेका देशबाट नेपालमा लगानी आकर्षित गर्दै नेपालका सम्भावनाहरूलाई विश्व बजारसम्म पुर्याउन आवश्यक देखिएको छ’, डा.राणाले भनेकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले नेपाली उत्पादन एवं पर्यटनको सम्भावनालाई विश्व बजारमा प्रवर्धन गर्ने कामका लागि आफू रहेका स्थानहरूमा समय समयमा आयोजना हुने मेला, महोत्सव एवं प्रदर्शनीमा सहभागी हुन पनि आग्रह गरेकी छिन् ।
उनले नेपालले आगामी दिनहरूमा जलवायु परिवर्तनका कारण भोग्नसक्ने समस्याहरूलाई ध्यानमा राखेर जलवायु न्यायको विषयलाई विश्वव्यापी रुपमा पैरवी गर्नुपर्ने अवस्था आएकोतर्फ ध्यानाकर्षण गराएकीछिन् ।
उनले निकट भविष्यमै नेपालमा आयोजना हुन लागेको सगरमाथा सम्वाद कार्यक्रमको सफलताका लागि पनि आ–आफ्ना ठाउँबाट लाग्न परराष्ट्रमन्त्री डा.राणाले सबैलाई आग्रह गरेकी छिन् ।
डा.राणाले परराष्ट्र मन्त्रालयका लागि तत्कालै आवश्यक रहेको थप जनशक्ति परिपूर्ति गर्न हालै गरिएको संगठन तथा व्यवस्थापन सर्भेबाट सहयोग पुग्ने बताएकी छिन् ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया