कांग्रेस नेता एवम् काठमाडौंको पूर्वमेयर सिंहको निधन
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ ।
सोमबार बिहान १ बजे काठमाडौंको चाक्सीबारीस्थित निवासमा पीएल सिंहको निधन भएको हो । पीएल सिंह ८८ वर्षका थिए । उनी उपप्रधान एवम् शहरी विकासमन्त्री समेत रहेका कांग्रेस नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बस्दै आएका थिए ।
पीएल सिंहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिनेछ । दिउँसो १२ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राख्न लागिएको हो ।
त्यसअघि बिहान ११ बजेसम्म ठमेलको चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा पीएल सिंहलाई श्रद्धाञ्जलि दिइनेछ ।
पीएल सिंह लौहपुरुष गणेशमान सिंहका सहयोगीको रुपमा काम गरेका थिए । पीएल सिंहलाई गणेशमान सिंहले आफ्नै छोरालाई सरह राखेका थिए ।
पीएल सिंहको सोमबार नै अन्त्येष्टि गरिनेछ । उनको अन्त्येष्टि काठमाडौंको कंकेश्वरी मन्दिरसँगैको लखतीर्थमा गरिनेछ ।
पीएल सिंह २०४९ सालको स्थानीय तह निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए । पीएल सिंह अविवाहित हुन् । उनका भाइ र बहिनीहरू छन् ।
पूर्वमेयर पीएल सिंहको निधनको शोकमा काठमाडौं महानगरपालिकाले सोमबार शोक बिदा दिएको छ ।
पीएल सिंहको समेत पहलमा काठमाडौं नगरपालिकालाई २०५२ साल मंसिर २९ गते महानगरपालिका घोषणा गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया